७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

जितिया व्रतका लागि उपवासको क्रम सुरु

१ असाेज, जलेश्वर । आउँदो ३६ घण्टासम्म निर्जल र निराहार भएर मनाइने कठोर व्रत जितियाअन्तर्गत उपवासको क्रम आज एकाबिहानैदेखि सुरु भएको छ ।सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने यो पर्वका लागि आज बिहानैदेखि सम्पूर्ण मिथिलाञ्चलका नारीहरुले उपवास सुरु गरेका छन् । नेपाल र भारतका विभिन्न भागमा नहा खा (नुहाएर खानु) विधिअनुसार शुक्रबारदेखि पर्व सुरु होे ।

व्रत बस्नु अघि शुक्रबारका दिन व्रती महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादको रुपमा चढाई परिवारका सबै सदस्यलाई खुवाएर आफूले पनि खाएका थिए ।

बिहानैदेखि निराहार एवं निर्जल व्रत सुरु गरेर आइतबार बेलुका ५ बजेपछि मात्रै व्रतीले व्रत सम्पन्न गर्ने जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकले बताउनुभयो । तराई मधेसका मधेसी तथा थारु महिलाले मनाउने यस पर्वमा महोत्तरीका सयौँ बर्तालुले जिल्लाको विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा पवित्र पोखरी लक्ष्मी सागर, बरुणसागर, भार्गव सरोवरलगायत पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुने गर्दछन् । यो कथा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ ।

व्रत बस्नु अघिल्लो दिन बर्तालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सख्खर र तोरीको तेलसहितका पदार्थ चढाउनुपर्छ । देवतालाई चढाएकै तेलबाट आ–आफ्ना सन्तानलाई पनि लगाउन दिनुपर्छ । व्रतको पहिलो दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ जसलाई स्थानीय भाषामा ‘माछ मरुवा (कोदो)’ भनिन्छ ।

त्यसैगरी धार्मिक विधिपूर्वक आज एकाबिहानै काग कराउनुभन्दा पहिल्यै व्रती महिलाले ओंगठन अर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ । प्रायजसो महिलाले ओंगठनमा च्यूरा र दही खाने गरेको पाइन्छ । त्यसपछि कठोर उपवासको क्रम सुरु हुन्छ । आश्विन कृष्णपक्षको अष्टमीका दिन मनाइने यो व्रत विशेष रहेको जलेश्वर नगरपालिका–८ पण्डित कालीकान्त झाले बताए ।

यस पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व छ । मटिहानीस्थित यालना संस्कृत विद्यापीठका प्राध्यापक धु्रव रायले भने, “यस पर्वले मिथिलाका महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गर्छ ।” पितृ पक्षमा मनाइने पर्वमा महिला आफैँले दिवङ्गत पितृलाई पिण्ड चढाउँछन् ।

मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रुपमा मानिन्छ । उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । त्यसैले यस पर्वलाई खड जितिया पनि भनिएको हो । फेरि एक पटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिन ।

राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातजनै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जितुमाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले त्यसैबेलादेखि यो व्रत सुरु भएको पौराणिक कथन छ ।जीवनमा एक पटक टुटेपछि पुनः गर्न नपाइएने हुँदा हत्तपत महिलाले यो पर्व अँगाल्दैनन् तर मिथिला क्षेत्रमा पुत्र हुने प्रत्येक महिलाले जीवनमा एक पटक यो पर्व अपनाउनै पर्ने चलन रहेको छ ।

प्रकाशित मिति : September 17, 2022 at 10:54 am