२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

रसुवागढी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रिए

३० भदाै, रसुवा । गत साउनको तेस्रो हप्तायता बन्द रसुवागढी नाकाबाट आजदेखि व्यापारिक सामग्री पुनःआयात हुन थालेको छ । कोभिड–१९ नियन्त्रणका लागि भन्दै गत साउन २१ गतेदेखि चिनियाँ सुरक्षाकर्मीले बन्द गराएको रसुवागढी नाका, चिनियाँ जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शुको नेपाल भ्रमणपश्चात् आज बिहान ९ बजेदेखि सामान आयात हुन थालेको हो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार पहिलो चरणमा बिहान ठूला सात चिनियाँ कन्टेनरमा रसुवागढीस्थित नेपाली भूभागमा सामान ल्याइएको हो । थप सात कन्टेनर आज साँझसम्म रसुवागढी पुग्ने प्रजिअ जैसीले जानकारी दिए ।

मितेरी पुलबाट चिनियाँ मालबाहक कन्टेनर रसुवागढी इलाका भित्र्याउनुपूर्व नेपाल तथा चीनबीच सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीले मोटर तथा सार्वजनिक स्थानमा औषधि छर्केका थिए । नेपाली सुरक्षाकर्मीले पहिलो चरणमा सामान पल्टी गर्ने स्थलदेखि मितेरी पुलसम्म औषधि छ्याप्ने र दोस्रो चरणमा चिनियाँ सुरक्षा अधिकारीले चीनको भूभागबाट सामान पल्टी गर्ने स्थानसम्म पुनःऔषधि छर्केको बताइएको छ ।

दसैँका लागि नेपाली व्यवसायीले चीनबाट झिकाएको करिब रु दुई अर्ब ५० करोड बराबरको माल सामग्री कोरानाका कारण केरूङ क्षेत्रमै रोकिएको अवस्थामा ढिलै भए पनि आयात हुँदा ठूलो सहयोग मिलेको व्यवसायी धर्म पौडेलले बताए ।

लिच्छवीकालको सातौँ शताब्दीतीर नेपालकी चेली भृकुटी र तिब्बतका राजा श्रङ्चङ्गोम्पोबीच विवाहपश्चात् व्यापारिक कारोवार सुरू भएको ऐतिहासिक नाकाबाट पहिला भरियाद्वारा सामान ढुवानी गरिन्थ्यो भने पछिल्लो समय यातायातको सुविधाले अधिकांश व्यवसायी चिनियाँ सामग्री आयातमा केन्द्रित भएका छन् ।

नेपालसँगको कारोबार गर्न रसुवागढी नाकालाई चीन सरकारले २०७२ को मङ्सिर १५ गतेदेखि औपचारिकरूपमा पूर्णता दिएपश्चात् व्यापारीले काठमाडौँ–रसुवागढी छोटो मार्गबाट कारोबार सुरू गरेका हुन् । व्यापारीले रसुवागढी नाकाबाट व्यापारिक कारोबार गर्दा गत आर्थिक वर्षमा रु सात अर्ब १७ करोड ६३ लाख ९० हजार भन्सार शुल्कबापतको राजस्व राज्यकोषमा दाखिला भएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

चालू आर्थिक वर्षको गत साउन २१ गतेसम्म आयात सामग्रीबाट रु एक अर्ब तीन करोड ५२ लाख ३७ हजार राजस्व सङ्कलन भएको भन्सार अपरेटर अधिकृत धनबहादुर प्रजापतिले जानकारी दिए ।

प्रकाशित मिति : September 15, 2022 at 7:03 pm