अब वीर अस्पतालले घर बहाल कर महानगरलाई नै बुझाउने
३० भदाै, काठमाडौं । वीर अस्पतालले चालु आर्थिक वर्षदेखिको कर काठमाडौं महानगरपालिकामै बुझाउने भएको छ । वीर अस्पतालले आफ्नो स्वामित्वमा रहेका विभिन्न घरटहराहरुलाई बहालमा लगाइएको र सो बापत प्राप्त हुने कर महानगरलाई नबुझाएको भन्दै महानगरले पत्र काटेको थियो । महानगरको पत्रपछि वीर अस्पतालले महानगरलाई पत्र लेख्दै चालु आर्थिक वर्षको साउन १ गतेदेखि प्राप्त हुने रकम महानगरको राजस्व कार्यालयमा बुझाउने जनाएको छ ।
वीर अस्पतालले महानगरलाई पत्र लेख्दै भनेको छ, ‘यस अस्पतालको स्वामित्वमा रहेका विभिन्न घरटहराहरुलाई वहालमा लगाइएको र सो वापत प्राप्त हुने रकमको १० प्रतिशत रकम साविक वमोजिम (स्थानीय सरकार सञ्चालन ऐन २०७४ जारी हुनुअघि झै) केन्द्र सरकारको खातामा अन्तरिक राजस्व कार्यालय ठमेलमार्फत ०७९ असार मसान्तसम्मको सम्पूर्ण रकम जम्मा गरिसकेकको र यस आवको साउन १ गतेदेखि प्राप्त हुने रकम ताहाँ कार्यालयमा जन्मा गरिने व्यहोरा अनुरोध छ ।’ अस्पतालले गत आर्थिक वर्षसम्मको सबै कर आन्तरिक राजश्व कार्यालयमा बुझाइसकेको बताएको छ ।
प्रकाशित मिति : September 15, 2022 at 1:13 pm









