७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

सेञ्चुरी मिस टिन उपाधिका लागि २० किशोरी भिड्दै

२० भदौ, काठमाडौं । सेञ्चुरी मिस टिन नेपालको १८औं संस्करणको ग्रान्ड फिनाले आगामी ९ असोजमा हुने भएको छ । काठमाडौं जेसिजले सन् २००२ देखि निरन्तर आयोजना गर्दै आएको मिस टिनको फाइनलमा २० जना प्रतिस्पर्धीहरूबीच उपाधि भिडन्त हुनेछ ।

आयोजक काठमाडौं जेसजिका अध्यक्ष अनुप सुनुवारका अनुसार किशोरीहरूको क्षमता अभिवृद्धि, सामाजिक एवं सांस्कृतिक वृत्तिविकास तथा महिला सशक्तीकरणको लक्ष्यसहित मिस टिन नेपालको आयोजना हुन लागेको हो । प्रतियोगिताबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सुनुवारले सेञ्चुरी मिस टिन नेपाल एक सौन्दर्य प्रतियोगिता मात्रै नभएर महिला सशक्तीकरणका पक्षमा पैरवी गर्ने मञ्चसमेत रहेको बताए ।

प्रतियोगिताको अडिसन राउन्डमा सहभागी ५० मध्ये २० जना ग्रान्ड फिनालेका लागि चुनिएका हुन् । प्रतियोगिताको मुख्य कोरियोग्राफरको भूमिका प्रिया रानी लामाले निर्वाह गर्नेछिन् । उनले प्रतियोगिताका सहभागीलाई राम्री बन्न र बोल्न मात्रै प्रोत्साहन नगरिने भन्दै एक जिम्मेवार नागरिकका रूपमा सहभागिहरूको क्षमता विकास गराइने बताइन् ।

प्रतियोगिको ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्नेहरूमा विभुषा बस्नेत, अदिती श्रेष्ठ, कसक पौडेल, सुम्निमा पुरी, आर्या पोखरेल, सुस्जिता पौडेल, स्नेहा पौडेल, पूजा ओली, प्रतीक्षा डंगोल, पारिका भण्डारी, हर्षिता पन्त, विसुका कोइराला, निशा सोनी, सुस्मिता अधिकारी, रोशनी सुनवार, खुसी श्रेष्ठ, आरती गिरी, सञ्जु श्रेष्ठ र कुसुम भट्टराई छन् ।

प्रतियोगितामा सेञ्चुरी मिस टिन नेपाल २०२२ को मुख्य टाइटलसहित विभिन्न १२ सब टाइटल अवार्ड राखिएका छन् । १६ देखि १९ वर्षसम्मका किशोरीहरू प्रतिस्पर्धी रहेको मिस टिन नेपालको मुख्य प्रायोजकका रूपमा सेञ्चुरी रहेको छ भने एनआइसी एसिया बैंक बैंकिङ पाटर्नर रहेको छ । आयोजकका अनुसार मिस टिन २०२२ को भोटिङ पाटर्नरमा खल्ती, डिजिटल पाटर्नरमा केटिएम रुस, फुड पाटर्नरमा द बर्गर हाउस, फेसन पाटर्नरमा नमुना कलेज अफ फेसन टेक्नोलोजी, यचु बुटिक रनीर्तिज डिजाइन रहेका छन् । प्रतियोगिताका विजेताहरूलाई क्राउन, अवार्ड र ‘सी इज सक्सेस’ नाम सामाजिक परियोजनामा काम गर्नेलगायतका अवसर प्राप्त हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : September 5, 2022 at 5:02 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/