४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

हतियारबिहीन प्रहरीको नजिकैबाट गोली प्रहार गरी लाखाैँ लुटपाट

२३ भदाै, महोत्तरी । महोत्तरीमा हतियारबिहीन प्रहरीको नजिकैबाट गोली प्रहार गरी लाखाैँको लुटपाट भएको छ । महोत्तरीको भंगहा नगरपालिका ६ जमुनियामा गएराति १२ बजे गोली प्रहार गरी लुटपाट भएको पत्रकार विक्रम राैनियारले बताएका छन । डाँकाहरुको समुहले भुजेलको घर घेरा हालेर २० मिनेटसम्म लुटपाट गरेका थिए ।

डकैती भैरहँदा नजिकैको जमुनिया चोकमा ड्युटीमा खटिएका सशस्त्र र नेपाल प्रहरीसहितको टोलीलाई सहयोगको लागि गुहार माग्दासमेत प्रहरी घटनास्थल जान डराएको स्थानीयको भनाइ छ । प्रहरीले आफूहरुसँग हातहतियार नभएको भन्दै घटनास्थलमा जान नमानेको स्थानीयले बताएका छन् ।

तस्बीरः बिक्रम राैनियार/अनलाइनखबर डटकम ।

१० भन्दा बढी संख्यामा आएका अज्ञात हतियारधारी समूहले प्रहार गरेको गोलीको छर्राले घरधनी ४५ वर्षीय अर्जुन भुजेल, उनकी श्रीमती ४२ वर्षीया अन्जु भुजेल, छोराहरु २५ वर्षीय अमित र १८ वर्षीय दिपेन्द्र तथा आफन्त सुमन बुढाथोकी घाइते भएको अनलाइनखबर डटकमले जनाएको छ । उनीहरुको बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

यसैबीच लुटपाटबारे केेही व्यक्तिहरुलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट रातो कपडामा बेरिएको सुतली बम र तीन थान गोलीको खोका फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७५, शनिबार ०९:५०