२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

वातावरण विज्ञानमा स्नातक पढ्दै गरेकी गोमा व्यावसायिक कृषिमा


१३ भदौ, लमजुङ । लमजुङकाे राइनास नगरपालिका–८, हर्राबोटकी २६ वर्षीया गोमा जिनी नेपाली आफ्नै कृषि फर्ममा काम गर्नमै व्यस्त छिन् । उनी त्रिचन्द्र कलेज काठमाडौँमा वातावरण विज्ञान विषय पढ्दैछिन् ।

पढे–लेखेपछि राम्रो जागिरको खोजीमा भौतारिने युवाको कमी छैन । सुखद भविष्यको कल्पना गर्दै विदेश भासिने युवा पनि उत्तिक्कै छन् । तर गोमा काठमाडौँमा पढेर गाउँमै फर्की बाँझा जमिन हरियाली बनाउन जुटेकी छन् ।

समाजमा उनलाई ‘पढे–लेखेको मान्छे राम्रो जागिर नखाएर के कृषिमा लागेकी ?’ भन्नेहरू पनि छन्,। तर उनी आफ्नै पौरखमा विश्वास गर्छिन् । र त गाउँकै माटोमा श्रम-पसिना बगाउँदैछिन् । यसमै उनको मन रमेको छ । ‘मलाई कृषि पेसा मन पर्छ । त्यसैले गाउँमै फर्की व्यावसायिक कृषिमा लागेको छु । यसबाट मलाई आत्मसन्तुष्टि पनि मिलेको छ,’ उनले भनिन् ।

उनले घर नजिकैको पाँच रोपनी जग्गा वार्षिक ५० हजार रुपैयाँ तिर्ने गरी पाँच वर्षका लागि भाडामा लिई ‘न्यू एकीकृत कृषि फर्म’सञ्चालन गरेकी छन् । गोमाका बुवा जीतबहादुर नेपाली पनि कृषिमै काम गर्थे । कृषि व्यवसायलाई अघि बढाउन बुवाको पनि साथ–सहयोग मिलेको छ गोमालाई ।

२० वटा टनेल : गोलभेँडा, काँक्रो, करेला उत्पादन

गोमाको कृषि फर्ममा अहिले २० वटा प्लाष्टिक टनेल छन् । ११ वटा टनेलमा ‘सिर्जना’ जातको गोलभेँडा लगाइएको छ । दुईवटा टनेलमा ‘पाली’ जातको करेला लगाइएको छ । पाँचवटा टनेलमा ‘भक्तपुरे लोकल’ जातको काँक्रो, एउटा टनेलमा स्थानीय जातको घिरौँला लगाइएको छ । एउटा टनेललाई परालले छोपी राखिएको छ । यसलाई स्टोरको रूपमा प्रयोगमा ल्याइएको छ । ‘अहिले फर्मबाट गोलभेँडा, करेला, काँक्रो, घिरौँला उत्पादन भइरहेको छ,’ गोमाले भनिन् । उनका अनुसार कृषि उत्पादनले राम्रो बजार पाएको छ ।

उत्पादन गाउँघरका साथै पाउँदी, सिँडीबारमा खपत हुँदै आएको छ । ‘कतिपय तरकारी किन्नलाई फर्मसम्मै आउनुहुन्छ,’ उनले भनिन्, ‘अहिलेसम्मलाई बजारको समस्या छैन ।’ उनले अहिले फर्ममा उत्पादित गोलभेँडा प्रतिकेजी ४५-५० रुपैयाँ, काँक्रो प्रतिकेजी ५०-६० रुपैयाँ, करेला प्रतिकेजी एक सय रुपैयाँका दरले बेच्दै आएकी छन् । फर्ममा सिँचाइका लागि डुम्रे खोलाको पानी ल्याइएको छ ।

‘फर्ममा रहेको जग्गामै पनि पानीको मूल छ । नजिकै खोलाबाट पनि पानी ल्याइएको छ । पानी समस्या छैन,’ गोमाले भनिन् । बिहान उठेदेखि साँझसम्म उनी फर्ममै व्यस्त हुन्छिन् । उत्पादित कृषि उपज गाडीमा राखेर बिक्रीका लागि उनी आफैँ बजारसम्म पुग्छिन् । फर्ममा तरकारी लगाउँदा, गोडमेल गर्दा केही स्थानीयले काम समेत पाउने गरेका छन् । ‘विशेषगरी फर्ममा हामी आफैँ खटिन्छौ । फर्ममा आशिंक रुपमा केही स्थानीयले समेत काम पाउने गरेका छन्,’ उनले भनिन् ।
बुवाकै प्रेरणाले कृषि कर्ममा लागेकाे उनले बताइन् । कृषि कर्मलाई अघि बढाउँदा गोमालाई बुवाका साथै आमा निरा र बहिनी मिनाको पनि साथ मिलेको छ । ‘बुवाबाट आवश्यक प्राविधिक सहयोग पाउँदै आएकी छु,’ उनले भनिन् । उनले हाल सञ्चालन गरेको फर्मको केही संरचना एक वर्षअघि नै निर्माण भइसकेको थियो । उनका अनुसार फर्म सञ्चालनमा ६ लाखभन्दा बढी लगानी भइसकेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार ११:३१