१७ पुष २०८१, बुधबार | Wed Jan 1 2025

गहुँ पठाइदिन अनुरोध गर्दै सरकारले भारतलाई लेख्यो पत्र

१० भदाै, काठमाडाैँ । गहुँ आयात खुला गर्न आग्रह गर्दै सरकारले भारत सरकारलाई पत्र लेखेको छ । नेपाल मैदा उद्योग संघको प्रतिनिधि मण्डलसँगको भेटमा मन्त्रालयले बुधबार नै भारत सरकारलाई पत्र लेखेको जानकारी दिएको हो ।

भारत सरकारले ३० वैशाख २०७९ देखि नेपालमा गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । खाद्य स‌ंकट तथा मूल्यवृद्धिको जोखिम आंकलन गर्दै भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको हो ।

यसले देशका मैदा उद्योगहरु प्रभावित छन् । नेपालका तीन दर्जन हाराहारी मैदा उद्योगहरु प्रभावित भएका छन । भारतले निर्यातमा लगाएको रोकपछि गहुँ अभावमा यतिबेला नेपाली मैदा उद्योगको अस्तित्व नै संकटमा पर्ने चिन्तामा उद्योगीहरु छन्।

स्वदेशी उद्योग संरक्षण गर्न नेपाल सरकारको तर्फबाट गहुँ आयातको प्रकृया अगाडि बढिसकेको र बुधबार नै सम्बन्धित निकायमा पत्र पठाएको वाणिज्य सचिव गणेशप्रसाद पाण्डे जानकारी दिनुभयो । लगभग १५ देखी २० दिनमा नेपालमा गहुँ आउने जनाइएको छ ।

नेपालका मैदा उद्योगलाई वार्षिक १० लाख टन गहुँ चाहिन्छ। त्यसमध्ये साढे तीन लाख टन नेपाली उत्पादनले नै धाने पनि बाँकी साढे ६ लाख टन भारतबाटै ल्याउनुपर्ने बाध्यता रहेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार १०:१६