सामूहिक बलात्कारको मुद्दामा नुवाकोट कांग्रेसका नेता पाण्डे पूर्पक्षका लागि जेल चलान
२३ साउन, कास्की । नेपाली कांग्रेस नुवाकोटका नेता मधुसुदन पाण्डे सामूहिक (जबरजस्ती करणी) बलात्कारको मुद्दामा पूर्पक्षका लागि कारागार (जेल) चलान भएका छन । पाण्डे असार २५ गते काठमाडाैँको तारकेश्वर नगरपालिकाको मनमैँजुमा रहेको लोटस क्लबबाट पक्राउ परेका थिए । पाण्डे सोही क्लबका सञ्चालक पनि हुन ।
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर २ प्रदेश कको प्रवक्ता समेत रहेका पाण्डेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश डण्डपाणी शर्माको एकल इजलाशले साउन १९ गते पूर्पक्षका लागि जेल चलान गर्ने निर्णय गरेको अदालतका सूचना अधिकारी निलप्रसाद पनेरूले दैनिकीलाई जानकारी दिए ।
पनेरूले सामूहिक बलात्कार मुद्दाका अभियुक्त चार जनामध्ये एक जना मधुसुदन पाण्डेमात्र अदालतमा उपस्थित भएको र उनलाई पूर्वपक्षका लागि जेल पठाइएको बताए । घटनामा संलग्न चार जनाको विरूद्धमा किटानी जाहेरी परेको र तीन जना अभियुक्त अहिलेसम्म फरार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

प्रहरीका अनुसार सल्यानको बागचाैर नगरपालिका वडा नम्बर २ घर भएका नयन डाँगी, काठमाडाैँको चन्द्रागिरी नगरपालिका वडा नम्बर १ घर भएका दिनेशकुमार थापा र काठमाडाैँकै टोखा नगरपालिका वडा नम्बर ८ भएका राजु राउत फरार रहेका छन । उनीहरूको विरूद्धमा पनि सामूहिक बलात्कारमा सहभागी भएकोमा मुद्दा दर्ता गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान सकेर साउन १५ मा जिल्ला सरकारी वकिलको कार्यालयमा मिसिल बुझाएपछि कार्यालयले साउन १८ गते जिल्ला अदालत कास्कीमा बलात्कारको मुद्दा दर्ता गरेको थियो । त्यसपछि साउन १९ गते न्यायाधीश डण्डपाणी शर्माको इजलाशले सुनुवाइ गर्दै अदालतमा उपस्थित भएका अभियुक्त पाण्डेलाई जेल चलानका लागि अादेश दिएको हो । अन्य अभियुक्तहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस्
-सामूहिक बलात्कारको मुद्दामा नुवाकोट कांग्रेसका नेता मधुसुदन पाण्डे पक्राउ
-सामूहिक बलात्कारमा परेका पार्टी प्रवक्ता छुटाउन नुवाकोट कांग्रेसका नेताहरूको लर्को
-लोटस क्लबका सञ्चालक मधु र राजुमाथि बलात्कार मुद्दा, एउटा भागे अर्को प्रहरी खोरमा
पाण्डेलाई हिरासत मुक्त गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय कास्की पुगेका नेपाली कांग्रेस नुवाकोटका नेताहरू निराश बनेर काठमाडाैँ फर्किएका छन । उनीहरूले अब पाण्डेको सजाँए कम गराउनका लागि अदालती लबिङ थालेका छन । नुवाकोट जिल्लाका बेलकोटगढी १३ स्थायी घर भएका पाण्डे हस्तकला र पर्यटन क्षेत्रमा नाम चलेका व्यापारी हुन ।
काठमाडाैँको कमलपोखरी (मालीगाउँ) बृतमा परेको बलात्कार सम्बन्धित जाहेरीका आधारमा पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको थियो । घटना कास्कीमा भएकाले उजुरी मालीगाउँमा परेको भए पनि अभियुक्त र उजुरी दुबै कास्की पठाइएको थियो ।

प्रकाशित मिति : August 8, 2022 at 12:29 pm









