२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

सामूहिक बलात्कारको मुद्दामा नुवाकोट कांग्रेसका नेता मधुसुदन पाण्डे पक्राउ


५ साउन, काठमाडाैँ । नेपाली कांग्रेस नुवाकोटका नेता मधुसुदन पाण्डे सामूहिक बलात्कारको मुद्दामा पक्राउ परेका छन । पाण्डे असार २५ गते काठमाडाैँको तारकेश्वर नगरपालिकाको मनमैँजुमा रहेको लोटस क्लबबाट पक्राउ परेका हुन । पाण्डे सोही क्लबका सञ्चालक पनि हुन ।

नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर २ प्रदेश कको प्रवक्ता समेत रहेका पाण्डे हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका छन । काठमाडाैँको कमलपोखरी (मालीगाउँ) बृतमा परेको बलात्कार सम्बन्धित जाहेरीका आधारमा पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको बृत्तका प्रमुख मीनबहादुर कुँवरले दैनिकीलाई जानकारी दिए । घटना कास्कीमा भएकाले उजुरी मालीगाउँमा परेको भए पनि अभियुक्त र उजुरी दुबै पठाइएको उनले बताए ।

प्रहरीले घटनामा संलग्न भएका अन्य तीन जनालाई फरार सूचीमा राखेर खोजी गरिरहेको छ । काठमाडौँमा पोखरा घुम्न जाने भनेर चार जनाले एक युवाती लिएर गएको र पोखरा महानगरपालिकको लेकसाइडमा रहेको एक होटलमा सामूहिक बलात्कार गरेर उजुरीमा उल्लेख गरिएको छ । यद्यपी पाण्डेले अाफूले बलात्कार गरेको अस्वीकार गरको उनको पारिवारिक स्रोतले जनाएको छ ।

घटना लगत्तै पनि चार जनाको समूहकै कब्जामा रहेकी युवतीले काठमाडौँ आइपुगेपछि महानगरीय प्रहरी बृत मालीगाउँमा उजुरी दिएकी थिइन । सोही उजुरीको आधारमा पाण्डे पक्राउ परेका हुन । फरार रहेका अन्य तीन जना पनि पाण्डेका व्यापारिक साझेदार रहेको प्रहरीले जनाएको छ ।

पाण्डेलाई हिरासत मुक्त बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय कास्की पुगेका नेपाली कांग्रेस नुवाकोटका नेताहरू निराश बनेर काठमाडाैँमा फर्किएका छन । उनीहरूले पाण्डेको रिहाइका लागि गृहमन्त्रालयको संयन्त्र समेतको प्रयोग गरेको स्रोतले जनाएको छ ।

नुवाकोट जिल्लाका बेलकोटगढी १३ स्थायी घर भएका पाण्डे हस्तकला र पर्यटन क्षेत्रमा नाम चलेका व्यापारी हुन । उनी नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अघिको प्रदेश अधिवेशनबाट प्रदेश प्रतिनिधिमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार १३:३६