७ असार २०८३, आइतबार | Mon Jun 22 2026

२२ बुँदे मागसहित राप्रपाले निकाल्यो जुलुस

१८ साउन, खोटाङ । नागरिकता विधेयक खारेजीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङले कालो पट्टी बाँधेर जुलुस निकालेको छ । नागरिकता विधेयक खारेजीको मागमा राप्रपाले बुधबार दिक्तेल बजारमा कालो पट्टी बाँधेर नारा जुलुस निकालेको हो ।

प्रतिनिधि सभाले ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ पारित गरेपछि राप्रपा निकट युवा तथा विद्यार्थी संगठनले विरोध जुलुस प्रदर्शन गरेको हो । राप्रपाले संघीयता खारेजीसम्मको नारा लगाएका छन् ।

जुलुस प्रदर्शनपछि किरातचोकमा भएको कोणसभालाई राप्रपाका अध्यक्ष ललितकुमार राई, युवा संगठनका सदस्य एवं राप्रपाका दिक्तेल रुपाकोट मझुवाढी नगर कमिटी उपाध्यक्ष प्रकाश थापा, महिला संगठनका जिल्ला संयोजक टिका खत्री र विद्यार्थी संगठनका अध्यक्ष विदेश राईले राप्रपाको २२ बुँदे माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

राप्रपाले भ्रष्टाचार र चरम महँगी नियन्त्रण गर्न, राष्ट्र हित विपरीत सन्धि सम्झौता खारेज गर्न, अतिक्रमित भूमि फिर्ता गर्न, स्थानीय तहमा लगाइएको दोहोरो कर फिर्ता गर्न, प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रधानमन्त्रीको व्यवस्था गर्न, शिक्षा, स्वास्थ्य सामग्री समयमै उपलब्ध गराउन, महिला हिंसा अन्त्य गर्न, श्रमिकको उचित ज्याला निर्धारण गर्न लगायतका २२ बुँदे माग गर्दै आएको छ । नागरिकता विधेयक खारेजीको मागमा राप्रपा निकट महिला संगठनले ११ साउनमा थाल ठटाउँदै जुलुस निकालेको थियो ।

प्रकाशित मिति : August 3, 2022 at 7:05 pm