१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर रिलिज, निर्माता पनेरुका चार कृति लोकार्पण

१४ साउन, काठमाडौं। फिचर चलचित्रको लम्बाईमा संवादसहित निर्माण भएको गीति चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा जातीय विभेदको दर्दनाक पाटोलाई देखाइएको छ । चलचित्रका अभिनेता अभिनास न्यौपाने र अभिनेत्री श्रेया कार्कीबीचको प्रेमलाई पनि ट्रेलरमा देख्न सकिन्छ ।

सौरपानी मिडिया प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रलाई देवेन्द्र पान्डेले निर्देशन गरेका हुन् भने मणि नेपाली पनेरु निर्माता हुन् । निर्माता पनेरुले लेखेका ६ वटा लोकगीतमा आधारित भएर चलचित्र निर्माण भएको हो । चलचित्रमा मोहन निरौला, उत्तम केसी, सरु सुनवार, शुभम् आचार्य, सविना न्यौपाने, मणि नेपाली पनेरुको पनि अभिनय छ । चलचित्रको ट्रेलर इन्टरनेटमा भने केहि समय पछि रिलिज गरिने निर्देशक पाण्डेले बताए ।

क्यानडाको लागि नेपाली साँस्कृतिक दुतसमेत रहेका पुर्ण नेपालीको एकल संगीतमा रहेका फिल्मका गीतहरुमा राजु परियार, तुलसी पराजुली, देवि घर्ती, निशा देसार, धर्मेन्द्र सेवान, टीका पुन लगायतका गायक गायिकाहरुको स्वर रहेको छ । चलचित्रको ट्रेलर सार्वजनिक गरिए पनि प्रदर्शन मिति भने घोषणा गरिएको छैन । नेपालअघि चलचित्रलाई अमेरिका लगायतका राज्यमा प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ ।

चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माता पनेरुद्वारा लिखित चार कृतिहरु उपन्यास ‘सात जुनी’, बालकविता संग्रह ‘हाम्रो झन्डा’, गीती संग्रह ‘स्वर्गको गाथा’ र कविता संग्रह ‘मुटु हराएको मान्छे’ एकसाथ लोकापर्ण गरिएको छ । सूचना, सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पनेरुको चारवटै कृतिको एकसाथ लोकापर्ण गरेका हुन् । पुस्तक लोकापर्णपछि मन्त्री कार्कीले सात समुन्द्र पारी बसेर पनि मणि नेपाली पनेरुले नेपाली कला, साहित्यमा पुर्‍याएको योगदानको प्रशंसा गरे । कला, साहित्यले नै संसारभर नेपाललाई चिनाउने उनको भनाई थियो ।

नेपाल विश्व सहयोग संघ र सौरपानी मिडियाको आयोजनामा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई समेत सम्मानित गरियो । साहित्यकार तथा प्राध्यापक डा. राम प्रसाद ज्ञवाली, समाजसेवी कैलाश कुमार पनेरु, कलाकार मोहन निरौला, चलचित्र पत्रकार जीवन पराजुली, निर्देशक देवेन्द्र पाण्डे, कलाकार उत्तम केसी, नेपाल शिक्षक संघका राजेन्द्रराज पौडेल, गायक पूर्ण नेपाली, मोडल श्रेया कार्की, कलाकार अभिनास न्यौपानेलगायतलाई मन्त्री कार्कीले सम्मान पत्र प्रदान गरेका थिए ।

‘मानिस ठूलो दिलले हुन्छ’को कथा तथा शब्द रचना निर्माता पनेरु स्वयंको हो । चलचित्रमा कृष्ण पुनको ब्याकग्राउन्ड स्कोर, बसन्त गोर्खाली प्रोडक्सन म्यानेजर, जीवन पराजुली मिडिया को-अर्डिनेटर, साहिल खानको ट्रेलर, देवेन्द्र पाण्डेको कोरियोग्राफी, उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ ।

 

 

प्रकाशित मिति : July 30, 2022 at 10:19 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/