अनिल सिंहले ल्याए देउडा गीत ‘रेलिमोई’
४ साउन, काठमाडौं । आइ लभ यु, प्रेमपत्र, डुब्न देऊ, इन्जिन गाडीमा, प्रेमिका, मैले जानी सकेलगायतका दर्जन बढी गीत सुपरहिट गीतका गायक अनिल सिंहले देउडा गीत ‘रेलिमोई’ ल्याएका छन् । आफ्नै म्युजिक च्यानल म्युजिक स्टेटमार्फत उनले गीत ल्याएका हुन् ।
विशेष गरी पप गायनमा अगाडि नै आउने नाम बनेका अनिलले यसपटक देउडा गीत गाएका छन् । उनकै संगीत र स्वर रहेको गीतको भिडियोमा उनी स्वयं फिचर्ड पनि छन् ।
सार्वजनिक गीतमा रिदमराज जोशीको शब्द छ । यो देउडा गीत हो । उनी सप्तरंग नामक सांगीतिक टुरमा रहँदा उनलाई देउडा गीत गाउनुपर्यो भन्दै प्रस्ताव आएको थियो । त्यहाँ रिदमसँग यशराजमार्फत भेट भएपछि उनले धुनलाई कम्पोज गरेर गीत तयार गरेका हुन् । गीतमा अनिलसँगै इटालियन मोडेल मार्गोस तटेला, निर्मल सिग्देल फिचर्ड छन् । गीतको भिडियोमा सिजिआइ, भिएफएक्स र कलाकार करेक्सन सुवोध पाण्डेको रहेको छ भने यसलाई म्युजिक स्टेटले छायांकन, सम्पादन र निर्देशन गरेर तयार गरेको हो ।
झन्डै डेढ दशक अगाडि मात्र फर्किने हो भने उनले गाएका गीतसंगीतमा नझुम्ने कमै थिए । अहिले पनि स्टेज कार्यक्रममा सक्रिय अनिलको कन्सर्टमा गाउने गीत र झुम्ने दर्शकको कमी छैन । तत्कालीन अवस्थामा उनले रकस्टारको ट्याग पाएका थिए ।
आफै गाउने र कम्पोज गर्ने भएकाले पनि अनिलको छुट्टै फ्यान फ्लोअर्स छन् । यिनै अनिल केही समयको तयारीपश्चात गीतसंगीतमा फर्किँदैछन् । केही समय संगीतबाट विश्रामझैँ लिएर कन्सर्टमा केन्द्रित भएका अनिलले ‘रेलिमोई’ सँगै आफ्नो सक्रियता बढाएका छन् । उनले आफ्नो सफल गीत इञ्जिन गाडीमा २ र आइ लभ यु २ गीत छिट्टै दर्शकसमक्ष ल्याउदै छन् । उनले आफ्नो हिट गीतहरुको नयाँ सिर्जनालाई ‘द ग्रेट हार्मोनिस्ट २’ एल्बममा संग्रहित गर्दैछन् ।
यसपटक उनले आफ्नै हित एल्बम ‘द रियल हार्मोनिस्ट’ कै नाम सापटी लिँदै एल्बम नै तयार गर्न लागेका हुन् । ‘गीतसंगीतसँगै अन्य काम पनि छन् । सबै योजनाअनुसार नै अगाडि आउने छन्,’ अनिलले भने । उनले गीतसंगीतको बदलिँदो ट्रेन्डलाई अध्ययन गर्न जरुरी रहेकोसमेत बताए ।
उनले आफ्नो हिट गीत इञ्जिन गाडीमा र आइ लभ युलाई कन्सर्टमा मात्र प्रस्तुत गर्ने भएका छन् । कन्सर्टमा गीत सुनिएपछि मात्र भिडियोमार्फत गीत सार्वजनिक गरिने छ । ‘इञ्जिन गाडीमा पार्ट २ टुर’ मा उनीसँगै ब्यान्डसमेत रहनेछन् । उनीहरुले उपत्यकाको भिडभाड हुने क्लबहरुमा कन्सर्ट गर्नेछन् । उनको ब्यान्डमा भोकलिस्ट अनिल स्वयं छन् भने किबोर्डमा सुनिल सिंह, लिड गीतारिस्टमा अनिश मानन्धर, बेस गीतारिस्टमा सन्दीप गुरुङ, ड्रमरमा प्रज्वल निर्वाण छन् ।
गीत सुन्न आइपुगेका दर्शक तथा श्रोतालाई रियालिटी फिल्म होस् भनेर उनले ब्यान्डसँग कन्सर्ट गर्न लागेका हुन् । उनी युरोप र दुबईमा छिट्टै कन्सर्ट गर्दैछन् भने क्यानडा र अस्ट्रेलियाका लागि पनि तयारी छ । केही समय स्टेजमा मात्र सीमित भएका अनिल अब गीतसंगीतसँगै स्टेजमा व्यस्त हुने योजनाअनुसार अगाडि बढिरहेका छन् ।
प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार १६:२९