१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

समाचार कक्षमै छिरेर पत्रकार पक्राउ परेको घटनाप्रति नेपाल पत्रकार महासंघको आपत्ति

१३ कात्तिक, काठमाडाैँ । समाचारको स्रोत खोतल्ने बहानामा नेपाल प्रहरी समाचार कक्षमै छिरेर पत्रकारहरूलाई गैरकानुनी रूपमा पक्राउ तथा धरपकड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले घोर आपत्ति र भर्त्सना व्यक्त गरेको छ।

महासंघले प्रहरीको यस कार्यलाई प्रेस स्वतन्त्रतामाथिको नाङ्गो हस्तक्षेप र राज्य आतंकको संज्ञा दिएको छ। महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका शोभराज बराल र डीएनए खबरका प्रधान सम्पादक धिरज बस्नेतलाई कार्यालयबाटै गैरकानुनी रूपमा पक्राउ गरिएको थियो।

यस्तै नयाँ पत्रिका दैनिकका पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन साझ ५ बजेदेखि ७ बजेसम्म प्रहरी कार्यालयमै कुरेर बसे पनि महासंघको दबाबपछि पछि हटेको विज्ञप्तिमा उल्लेख छ।

धरपकड गरिएका पत्रकारहरूलाई शुक्रबार साँझ नै छाडिएको भए पनि दियो पोस्टका पत्रकार सुदीप विश्वकर्मालाई पक्राउ गर्न अझै निगरानी भइरहेको महासंघले जनाएको छ। प्रकाशित वा प्रसारित समाचारको विषयमा केही समस्या भए विधि र कानुनबमोजिम समाधान खोज्नुको सट्टा राज्य आतंक सिर्जना गर्नु शोभनीय नभएको महासंघको ठहर छ।

प्रहरीको यो कदम प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय कानुन, नेपालको संविधान र विद्यमान कानुनविपरीत रहेको बताइएको छ। प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारसमेत मिचेर राज्य सत्ताको आडमा अपनाइएको यस स्वेच्छाचारी कदमप्रति खेद व्यक्त गर्दै महासंघले आमपत्रकारलाई अविचलित रूपमा प्रेस स्वतन्त्रताको अभ्यास गर्न र राज्य आतंकविरुद्ध खबरदारी गर्न आह्वान गरेको छ।

साथै, प्रहरीको यस्ता गैरकानुनी धरपकडका विरुद्ध सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत महासंघले दिएको छ।

प्रकाशित मिति : October 30, 2026 at 9:23 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/