अोली सरकारविरुद्ध सुनियोजित र संगठित आक्रमण हुँदा पनि किन सीमितमात्रै प्रतिवाद ?
–राधाकृष्ण देउजा
अहिले नेपालमा समृद्ध नेपालको सपना बोकेको, एउटा दह्रो अडान भएको नेताको नेतृत्वमा सरकार छ, त्यो सरकारको प्रधानमन्त्री रहेका केपी शर्मा ओली आफ्नो थंगथिलो ज्यान लिएर दिनरात आफ्नो एजेण्डाहरुलाइ मुर्त रुप दिन अनि देशलाई जनताले चाहेको जस्तो बनाउन खटिरहेका छन मुट्ठीभरि औषधी सेवन गर्नु उनको वाध्यता रहेको छ भने समयको ख्याल नराखिकन अत्यन्त न्यून मात्रामा खाना खाने उनको परिचय भएको छ ।
उनीसंग औपचारिक अध्यन नभएको कुरालाइ लिएर उनलार्इ खिसीट्युरी गर्नेहरुले उनलाई आठ पास, प्रधानमन्त्री भन्ने गरेका छन । तर तिनै आठ पास प्रधानमन्त्री हरेक विषयमा वहुत तथ्यपरक ढङ्गले आफ्ना कुराहरु राख्ने मात्रै नभएर तथ्यपरक तर्कले सवैलार्इ नाजावाफ बनाइ रहेका छन । सरकारदेखि पार्टीका नीति , कार्यक्रम र एजेन्डालाइ जनतामा स्थापित गराउन, त्यसलार्इ जनअनुमोदन दिलाउन पनि उनी नै अग्रपङ्क्तिमा होमिएका छन । त्यति मात्रै नभएर जनताको सेवा गर्छु भन्दै संघ , प्रदेश र स्थानीय तहमा निर्वाचित भएका आफ्नै भनिने विलासी सोचका पात्रहरुलार्इ विलासी गाडीलगायत अन्य सुख सुविधाको पछाडि दौडिनु भन्दा जनताको सुख, सुविधाको बारेमा ध्यान दिनु चाहिं आफ्नो कर्तव्य हो भन्ने स्मरण गराइरहेका छन ।
जननिर्वाचित लोकप्रिय सरकारको लोकप्रिय प्रधानमन्त्रीको उल्लेखित आसाधारण गतिविधिको निम्ती उनको मुक्त कण्ठले जति प्रशंसा गर्दा पनि कमै हुनेछ । तर यहाँ प्रधानमन्त्रीको केपी ओलीको लोभलाग्दो सक्रियता र प्रशंसायोग्य कदमहरुको मात्रै चर्चा गर्न खोजिएको हैन । बरु मुलुककै सबैभन्दा ठुलो दल अनि इतिहासकै सवैभन्दा शक्तीशाली जननिर्वाचित सरकारको सकारात्मक कामहरुको चर्चा, परिचर्चा अनि नियोजित रुपमै भएपनि लगाइएका आरोपहरुको प्रतिवाद गर्ने घेरा चाहिं किन साँघुरो देखिएको छ ? किन केपी ओली स्वयंसहित अन्य केही नेताहरु मात्रै यस सरकारको प्रवक्ता र रक्षक बनिरहनु परेको हो ? भन्ने सार्वजनिक सवाल गर्न जरुर खोजिएको हो ।
तथ्यहरुलाइ मात्रै हेर्ने हो भने वर्तमान सरकार जनताको हितमै क्रियाशील छ । सरकारको मुल्यांकन सरकारमा रहेका केही पात्रहरुको बोलि र व्यवहारमा हैन, सरकारको नीति र कार्यक्रमको आधारमा गर्ने हो भने यो इतिहासकै लोकतान्त्रिक र विकासप्रेमी सरकार हो भन्ने प्रष्ट छ । तर पनि सरकारलार्इ अधिनायकवादी भएको आरोप लगाइन्छ । अनि त्यो मिथ्या आरोपको प्रतिवाद या त केपी ओली स्वयंमले गर्नु परेको छ वा वलात केपी ओली विरोधी भनेर प्रचारित नेता कार्यकर्ताहरुले गर्नु परेको छ ।
अहिले विगतको एमाले र माओवादी केन्द्र मिलेर एउटा पार्टी बनेको छ । तर व्यवहार अहिले पनि एउटा लक्ष्य , उद्दश्य बोकेको एकीकृत पार्टी जस्तो बिल्कुल देखिदैन । दुइटा मिलेर एउटा बनेको पार्टीमा हिजो छुट्टा छुट्टै हुँदा रहेको पार्टीकै नेता र कार्यकर्ताहरुकै विचमा मात्रै भेट हुने, उनीहरुकै विचमा नै सल्लाह र छलफल हुने मात्रै नभएर तत तत पार्टीका पनि गुट विशेषकै एकता समेत कायम रहने गरेको देखिन्छ । अझै पार्टीको एकता प्रक्रिया चलिरहँदा हिजोको कथित गुटकै स्वार्थलाइ मात्रै ध्यान दिएको कुराहरु आइरहेको छ । अनि त्यस्तो घृणित कार्यमा सिंगो पार्टी अध्यक्ष मध्यका एक हुनुको अलावा सरकारको प्रमुखको रुपमा देशकै अभिभावक रहेका केपी ओलीलाइ समेत मुछ्ने काम भैरहेको छ । त्यति मात्रै नभएर त्यही एकताको प्रक्रियामा देखाइएको गुटगत स्वार्थको यथार्थलाइ ओझेलमा पार्न पार्टीको अर्का वरिष्ठ नेता माधवकुमार नेपालले समानान्तर कमिटी बनाउने चेतावनी दिएको जस्तो भ्रामक हल्लाहरु फैलाउने कामहरु समेत गरिएका छन ।
दुनियालार्इ थाहाछ, पार्टी संचालन गर्दै गर्दा कतिपय अवस्थामा अन्तरपार्टी संघर्ष हुन्छ, नीति र नेतृत्वको छनोटको बेला पक्ष विपक्ष पनि हुन्छ तर एउटा जिम्मेवार नेतृत्वले त्यस्तो धंगधंगी बोकेर हिडदैन । बरु कार्यकर्ताको मतको कदर गर्दै स्थापित नीतिलाइ शिरोधार्य र निर्वाचित नेतृत्वसंग सहकार्यको सिद्धान्त अनुशरण गर्दछ । तत्कालिन एमालेको महाधिवेशनमा वर्तमान प्रधानमन्त्री केपी ओलीसंग झिनो मतले पराजित नेता माधव नेपालले पनि त्यही गर्दै आएका छन । पार्टीको आन्तरिक छलफल र वहसको दौरान कडासंग राख्ने अनि वाह्य मोर्चामा सदैव सहयोग र सहकार्य गर्ने तथ्यलाइ जस्ताका तस्तै बुझ्ने हो भने नेता नेपालले देखाउँदै आएको सहकार्यको त्यो पहललाइ वर्तमान प्रधानमन्त्री केपी ओलीले पनि सदैव सम्माननै गर्दै आएको देखिन्छ । कँही कतै दुराग्रह राखेको पाइन्न ।
उहाँहरुकै सहकार्य र संयुक्त कोशिसले निर्वाचनमा ऐतिहासिक विजयदेखि पार्टी एकतासम्मका कामहरु सम्भव पनि भएका हुन । एक अर्का प्रतिको त्यो सम्मान जन्मदिनमा केक काट्ने र एकअर्काको सुख दुख सोधनी गर्नेमा मात्रै सिमित नरहेर पार्टी एकताका प्रक्रियानमा माधव नेपाललाइ यथोचित सम्मान र जिम्मेवारी दिने देखि सरकारको प्रतिरक्षामा ढाल बनेर उभिने माधव नेपालको कदमसम्मले प्रष्ट पार्दछ । तर यहाँ त त्यो सबै भुलेर फेरी एक पटक पार्टीमा अनावश्यक गुट विवाद जन्माउने कोशिस गरिदै पो छ कि जस्तो देखिदै छ ।
आफ्नो आफ्नो स्वार्थको दास भएर यो वा त्यो नेता यसको वा त्यसको विरुद्धमा भनेर गरिने गराइने चर्चाले पार्टीभित्र केहीको हित होला, अनि केहिको अहित पनि । तर समग्रमा यसले विरोधी पार्टीहरु अनि नेपालको हित नचाहनेहरुको हित गर्नेछ । त्यस्तो कार्यले नियोजित रुपमा चलाइएको वाह्य आक्रमण अनि देशमा फैलाउन खोजिएको अराजकताको सामाना गर्नु पर्ने वर्तमान सरकार र त्यसको नेतृत्व गरिरहेको पार्टीको नेतृत्वलार्इ आन्तरिक समस्यामा उल्झाउने खतरा हुन्छ । जसले गर्दा पार्टीलाइ त घाटा हुन्हु हुन्छ, सिंगो देशलाइ पनि घाटा हुन्छ । सम्वृद्ध नेपाल र सुखी नेपालीको एजेण्डा सुहाउँदो कार्यक्रम बोकेर अगाडी बढिरहेको सरकारको एजेण्डाहरुलाई जनतामा स्थापित र अनुमोदित गर्ने काम केपी ओलीको मात्रै हैन, यो उनले नेतृत्व गरेको पार्टीका प्रत्यक सदस्यहरुको हो ।
लोकतन्त्रको जगेर्ना गर्दै संवैधानिक सर्वोच्चता सहितको कानुनि शासनलाइ संस्थागत गर्ने वर्तमान सरकारको लक्ष्य रहँदा रहँदै छिठफुट रुपमा हुने घटनाहरुलाइ आधार बनाउदै , विरोध गर्ने स्थानलाइ सिमित र व्यवस्थित गर्न खोज्दा विरोध गर्ने अधिकारनै कुण्ठित गर्न खोजिएको जस्तो आरोप लगाउँदै कथित अधिनायकवादको हौवाको विरुद्धमा तथ्यपरक खण्डन गर्ने कार्य केवल केपी ओली लगायत केही सिमित नेताहरुको मात्रै हैन र हुनुहुदैन । अनावश्यक आरोप र कुप्रचारको संयुक्त प्रतिवाद हुनुपर्छ । सकारात्मकताको पनि प्रचार सिमित हैन ब्यापक हुनुपर्छ ।
कसैले माने पनि नमाने पनि अहिलेको केपी ओली नेतृत्वको सरकार देश र जनताको पक्षमा केही गरौँ भनेरै लागेको छ, तर दुखका साथ भन्नुपर्छ, यत्रो ठुलो दलले नेतृत्व गरेको जननिर्वाचित लोकप्रिय सरकारको जनपक्षिय नीति, कार्यक्रम र त्यसको जगमा गरिएका निर्णयहरु जनतामा पुर्याउने काम केवल केपी ओलीसहित केही सिमित नेताहरुको मात्रै हो कि जस्तो देखिएको छ । सरकारविरुद्ध आक्रमण सुनियोजित र संगठित छ तर प्रतिवाद सिमित छ । यसको अन्त्य हुनु अत्यावश्यक छ ।
केपी ओली नेतृत्वको सरकार असफल भएमा त्यसले सम्वृद्ध नेपाल र सुखी नेपालीको सपनालार्इ असफल बनाउछ भन्ने सत्यको वोध गरेर अन्तर पार्टी निर्वाचनमा स्वयम केपी ओलीसंगै प्रतिस्पर्धा गरेका माधव नेपालले जसरी प्रधानमन्त्री केपी ओलीकै तहमा सरकारको सकारात्मकताको प्रचार अनि सरकार विरुद्धको आक्रमणको डटेर प्रतिवाद गर्दै आएका छन त्यसैगरी त्यस पार्टीका हरेकले त्यो काम गर्नुपर्छ । हिजोको एमाले , हिजोको माओवादी केन्द्र अनि त्यसभित्रका पनि हिजोको गुट खोज्ने कामको अव अन्त्य हुनैपर्छ ।
यो सरकार केपी ओलीको मात्रै सरकार हैन, यो देशको सम्वृद्धि र जनताको सुख देख्ने चाहनेहरुको सरकार हो । यसको समर्थन गर्नु अनि यसविरुद्ध भैरहेका आक्रमण र कुप्रचारको डटेर सामना गर्नु सबैको कर्तव्य हो । तर केपी ओली नेतृत्वको विशाल पार्टीका धेरै नेता कार्यकर्ताहरुको समयको मागप्रतिको उदासिनता, व्यवास्ता र स्वार्थ केन्द्रित अनावश्यक असामयिक गुट केन्द्रित चलखेल हेर्दा चाहिं लाग्छ, सरकारको सफलता केवल केपी ओली अनि यस सरकारको असफलताको डरलाग्दो परिणाम बुझेका केहीलार्इ मात्रै चाहिएको छ । तर सत्य के हो भने यो सरकार असफल हुँदा एउटा युगको सपना टुट्ने छ भने देशले हार्नेछ। सवैलाइ चेतना भया । जनताटाइम्स
प्रकाशित मिति : १६ भाद्र २०७५, शनिबार ०८:५७