२५ मंसिर २०८१, मंगलवार | Tue Dec 10 2024

कृषक बनेर लुम्बिनी र कर्णाली घुम्दै कालिका गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी

-पवित्रा मुडभरी

११ मंसिर, काठमाडौँ । रसुवाको कालिका गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी लाजै नमानी कृषकको नाममा लुम्बिनी र कर्णाली प्रदेशको भ्रमणमा निस्किएका छन । ‘कालिका गाउँपालिका अन्तर्गत पशु सेवा शाखा, कार्यपालिका, विषयगत शाखा तथा व्यवसाय कृषकहरुको लागि अन्तरजिल्ला अध्यापन अवलोकन भ्रमण’ शीर्षक दिएर गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाको नेतृत्वमा ३५ सदस्यीय टोली भ्रमणमा निस्किएको छ । मंसिर १० देखि १६ गतेसम्मको भ्रमण कार्यतालिका बनाएर टोली भ्रमणमा निस्किएको हो ।

पशुसँग सम्बन्धित कृषकहरूका लागि भ्रणम गराउनु पर्ने भए पनि ३५ जनाको टोलीमा जम्मा ६ जना कृषक रहेका छन । जस मध्ये वडा नम्बर १ बाट एक जना, वडा नम्बर २ बाट एक जना, वडा नम्बर ३ बाट दुई जना, वडा नम्बर ४ बाट एक जना र वडा नम्बर ५ बाट एक जना कृषक रहेका छन ।

कृषकहरूको नाममा अवलोकन भ्रमण कार्यक्रम आयोजना गरिए पनि भ्रमणमा वास्तविक कृषकहरूको संख्या निकै न्यून रहेको छ । कृषक भ्रमण टोलीमा गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, अधिकृतदेखि कार्यालय सहयोगीसम्मका कर्मचारी र शिक्षक रहेका छन ।

यस कार्यक्रमको उद्देश्य कृषकहरूलाई आधुनिक खेती प्रणाली तथा अन्य नयाँ प्रविधिको अवलोकन गराउनु हुनुपर्नेमा भ्रमण टोलीमा कृषकहरूको कम संख्याले स्थानीय स्तरमा तीव्र आलोचना र प्रश्नहरू उठेका छन । स्थानीयहरूले कृषकहरूको नाममा आयोजित कार्यक्रमले वास्तवमा कृषकहरूको हितभन्दा जनप्रतिनिधि र कर्मचारीहरूको व्यक्तिगत फाइदा र स्वार्थलाई प्राथमिकता दिएको बताएका छन ।

स्थानीय कृषकहरूले भने आफूहरूको नाममा बजेट छुट्याएर गाउँपालिका जनप्रतिनिधि र कर्मचारीले मोज गरेको बताएका छन । गउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले १२ वटा स्थानीय तह घुमेर केही सिक्दै रिपोर्ट बनाइ सोही अनुसार बजेट बनाएर कार्यान्वयन गर्ने दाबी गरेका छन । दैनिकीसँग कुरा गर्दै उनले कुरा काट्नेले काटीरहने भन्दै आफूले निकै राम्रो काम गरेको बताए ।

‘लुटको धन, फुपुको श्राद्ध’ भन्ने उखान चरितार्थ गरिरहेका अध्यक्ष देवकोटा सो कुरा भने स्वीकार गर्न तयार छैनन् । उनले आफैँ पनि किसान रहेको दाबी गर्दै आफ्नो घरमा पनि तीनवटा भैँसी र बाख्रा पालिएको बताए । उनले भ्रमणमा सहभागी सबैले सिकेको कुरा सल्लाह गरेर लागू गर्न सहयोग गर्ने दाबी गर्दै आफूले ७७ जिल्ला नै घुमिसकेको र फरक प्रकारको कार्ययोजना तयारी गर्न यस्तो गरिएको बताए ।

भ्रमण टोलीको सदस्यको नाम र पद हेर्दा कार्यक्रमसँग सम्बन्धित भन्दा असम्बन्धित धेरै रहेका छन । भ्रमण टोलीमा अध्यक्ष हरीकृष्ण देवकोटा, वडा अध्यक्षहरू फडिन्द्रप्रसाद न्यौपाने, सेशम तामाङ रहेका छन । त्यस्तै अन्य जनप्रतिनिधिमा किप्पा थोक्रा, सालमाया तमाङ, दुर्गा भट्ट, सर्मिला घले रहेका छन । उनीहरू चारै जना कार्यपालिकाका सदस्यहरू हुन ।

त्यस्तै कर्मचारीमा प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर के सी कुँबरसहित अधिकृतहरू गोपी पराजुली, तिला नेपाल, बुद्धि नाथ न्यौपाने, डा सरोज कार्की, उमेश देवकोटा रहेका छन । त्यस्तै सहायक कर्मचारीहरू  भुवन डुङ्गाना, माधव देवकोटा, आस्था सापकोटा, नवराज पौडेल, मोचनाथ ढकाल, धुमा तामाङ, टिका मगर, गोकर्ण पौडेल, मोहन कुमारी देवकोटा रहेका छन ।

त्यस्तै हलुका सवारी चालक अण प्रसाद घिमिरे र कार्यालय सहयोगी ठाकुर प्रसाद ढकाल, सविना न्यौपाने मगर रहेका छन । गाउँसभा सदस्य हरिप्रसाद देवकोटा  । त्यस्तै शिक्षकहरू नारायण देवकोटा र तीर्थराज देवकोटा रहेका छन । त्यस्तै कृषकहरू तुलु तमाड, बालकृष्ण न्यौपाने, कुमार गजुरेल, बद्रीबहादुर पनेरु, सनत देवकोटा र मिननाथ खतिवडा रहेका छन । सुशासनमा निकै कमजोर रहेको गाउँपालिकामा विकृतिको चाङ रहेको स्थानीयको भनाइ  छ ।

dainiki.com

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलवार २०:५४