६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

आमरूपमा एमालेको प्रचार संयन्त्र प्रभावकारी भएनः अध्यक्ष ओली

२८ असार, काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आमरूपमा पार्टीको प्रचार संयन्त्र प्रभावकारी नभएको बताएका छन । एमालेको तल्लो कमिटीहरूका लागि जारी गरिएको ११ बुँदे अन्तरपार्टी निर्देशन ४ मा अध्यक्ष ओलीले यस्तो कुरा उल्लेख गरेका हुन ।

उनले आमरूपमा पार्टीको प्रचार संयन्त्र प्रभावकारी नभएकै कारण गत स्थानीय निर्वाचनमा प्रचार कार्य व्यवस्थित हुन नसकेको बताएका छन । उनले प्रचारलाई प्रभावकारी बनाउन थप योजना बनाउनुपर्ने बताएका छन । त्यसका लागि प्रचार विभागले पछिल्लो समय प्रस्ताव गरेको केही विषयलाई ध्यान दिँदै सात वटा काम गर्नुपर्ने उल्लेख गरेका छन ।

ओलीले एमाले एपको व्यापक प्रयोग गर्ने, मिडिया हाउसहरूसँग समन्वय गर्ने, प्रचार क्षेत्रका एमालेको संगठन र कार्यकर्तालाई पूर्ण क्षमतामा परिचालन गर्ने, समाजिक सञ्जालको प्रयोग गर्ने, पार्टीको नीति, कार्यक्रम र गतिविधिको व्यापक प्रचार प्रसार गर्ने, पार्टीविरोधी भ्रमपूर्ण समाचारको समयमै खण्डन र प्रतिवाद गर्ने र केन्द्रीय कार्यालयबाट आवश्यक सहजीकरण गर्ने उल्लेख गरेका छन ।

एमालेको केन्द्रीय प्रचार विभागका प्रमुख र उपप्रमुख माथिनै वैशाख ३० को स्थानीय चुनावमा पार्टीका उम्मेदवार पराजित गराउन भूमिका खेलेको भन्दै पार्टी अध्यक्ष, पार्टी महासचिव र अनुशासन आयोगमा उजुरी परेको समाचारहरू यसअघि बाहरिएका थिए ।

ती समाचारमा अहिलेसम्म सम्बन्धित नेताहरूले खण्डन गरेका छैनन् । यही परिप्रेक्ष्यमा पार्टी अध्यक्षले अन्तरपार्टी निर्देशनमै आमरूपमा पार्टीको प्रचार संयन्त्र प्रभावकारी नभएको बताएपछि पार्टीको मुखपत्र नवयुग बन्द गरेर उत्सव मनाइरहेको विभागको नेतृत्व माथि नैतिकताको प्रश्न तेर्सिएको छ  ।

एमालेको प्रचारको मुल नेतृत्वमा अहिले उपमहासचिव पृथ्वी सुब्बा गुरूङ प्रमुख, केन्द्रीय सदस्य विष्णु रिजाल उपप्रमुख र प्रेस चाैतारी नेपालका पूर्व अध्यक्ष गगन विष्ट सचिव रहेका छन ।

पार्टी अध्यक्षले नै अपानिमा प्रचार संयन्त्र प्रभावकारी नभएको बताए पनि केही दिनअघि प्रचार विभागको नेतृत्वले भने आफू अनुकुलको निर्देशन पालना गर्ने र काममा खटाइएका मध्ये केहीलाई पार्टी अध्यक्ष ओलीबाट केन्द्रीय कार्यालयमै उत्कृष्ट प्रचार गरेको भनेर सम्मानित गरेको थियो ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलवार २०:२१