पत्रकारमाथि भइरहेको धरपकडबारे सरकारले स्पष्ट पारोस्ः रास्वपा
१३ कात्तिक, काठमाडौँ । विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेको सोधपुछ, धरपकड र पक्राउका घटनाप्रति सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले यस विषयमा सत्यतथ्य बाहिर ल्याई स्थिति स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराएको छ।
रास्वपाका प्रवक्ता जगदिश खरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संविधानप्रदत्त मौलिक अधिकार भएकाले यसप्रति पार्टीको पूर्ण सम्मान र जिम्मेवारीबोध रहेको स्पष्ट पारेका छन्।

“विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीलाई सोधपुछ, धरपकड तथा पक्राउको समाचार सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आइरहेकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,” प्रवक्ता खरेलले लेखेका छन्, “यसबारे स्पष्ट पार्न हामी सरकारको ध्यानाकर्षण गराउँछौँ।”
समाचार प्रकाशित गरेकै आधारमा कुनै पनि पत्रकार वा सञ्चारकर्मीलाई गैरकानुनी रूपमा नियन्त्रणमा लिन नमिल्नेमा पार्टी स्पष्ट रहेको उनले बताएका छन्। समाचारको विषयमा चित्त नबुझेमा वा कानुनी उपचार खोज्नुपरेमा अन्य धेरै वैधानिक बाटाहरू खुला रहेको उल्लेख गर्दै रास्वपाले तिनै कानुनी उपायहरू अवलम्बन गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
प्रकाशित मिति : October 30, 2026 at 8:12 pm








