२० जेष्ठ २०८३, बुधबार | Wed Jun 3 2026

नेप्सेमा थप दुई बीमा कम्पनीको सेयर कारोबार रोक्का

२८ असार, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा थप दुई बिमा कम्पनीको सेयर कारोबार रोक्का हुने भएको छ । सोमबार सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले मर्जमा जाने समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेकाले मंगलबारदेखि यी दुई कम्पनीको सेयर कारोबार रोक्का हुने नेप्सेले जनाएको छ ।

सोमबार भएको समझदारी पत्रमा दुवै कम्पनीका अध्यक्षहरूले हस्ताक्षर गरेका छन् । स्वाप रेसियो भने सम्पत्ति र दायित्व मूल्यांकन पछि तय गर्ने सहमति भएको छ । मर्जरपछि बन्ने कम्पनीको नाम, अध्यक्ष र सिईओका विषयमा आगामी दिनमा छलफल गर्ने सहमति भएको छ । कम्पनीले मर्जरमा गएलगत्तै सेयर कारोबार रोक्का गरिदिन समेत नेप्सेलाई अनुरोध गरेको छ ।

बीमा समितिले २३ जेठमा एक निर्देशन गरी गर्दै सबै बीमा कम्पनीहरूलाई असार मसान्तसम्म मर्जरमा जान सहमतिपत्रमा हस्ताक्षर गर्न र मर्जरको सम्पूर्ण प्रक्रिया ०८० असार मसान्तसम्म पूरा गर्न आह्वान गरेको थियो ।

असार मसान्तसम्म मर्जरमा जाने कम्पनीलाई छुटको व्यवस्था गरेको छ । सूचनामा सेयरधनीले आफ्नो सेयर मर्जरको मितिले दुई वर्षसम्म बिक्रीवितरण गर्दा बिक्री गरिएको सेयरमा पुँजीगत लाभ कर नलाग्ने, सेयरधनीलाई वितरण गरेको लाभांश कर नलाग्ने साथै कर्मचारीको अवकाशमा कर छुट दिने कुरा उल्लेख गरेको थियो ।

बीमा समितिले तोकेको चुक्ता पुँजी पूरा गर्न मर्जरमा जाने कम्पनीलाई उक्त सुविधा प्राप्त गर्नका निम्ति २०७९ असार मसान्तभित्र सम्बन्धित निकायमा आवेदन दिनुपर्ने जनाएको हो ।

प्रकाशित मिति : July 12, 2022 at 11:09 am