समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा माधव नेपालका सम्धी सोमप्रसाद पाण्डे
२५ असार, बुटवल । नेकपा एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा माधव नेपालका सम्धी चयन भएका छन् । अध्यक्ष नेपालले यसअघिका अध्यक्ष मेटमणि चौधरीलाई हटाएर आफ्ना सम्धी सोमप्रसाद पाण्डेलाई अध्यक्ष बनाएका हुन् ।
शनिवार बुटवलमा अध्यक्ष नेपाल आफैँ सहभागी पार्टीको प्रदेश कमिटी बैठकबाट चौधरीलाई हटाएर पाण्डेलाई प्रदेश अध्यक्ष बनाइएको हो । यसअघि प्रदेश अध्यक्ष रहेका मेटमणि चौधरी सहरी विकासमन्त्री भएपछि चौधरीकै प्रस्तावमा पाण्डेलाई प्रदेश अध्यक्ष बनाउने सर्वसम्मत निर्णय गरिएको बताइएको छ ।
पार्टीले केन्द्र र प्रदेश कमिटीमा रहेका केही नेताको भूमिका समेत हेरफेर गरेको छ । प्रदेश सचिव एवं रुपन्देही अध्यक्ष रहेका राजु गुरुङले जिल्ला अध्यक्षको जिम्मेवारी छाडेका छन् । रुपन्देही अध्यक्षमा अविराम विक चयन भएका छन् । विक यसअघि जिल्ला सचिव रहेका थिए ।
रुपन्देही उपाध्यक्ष रहेका सिद्धिचरण भट्टराईले लुम्बिनी विकास कोषको कोषाध्यक्ष नियुक्त भएपछि पार्टीको जिम्मेवारी छोडेका छन् । उपाध्यक्षमा श्रीराम यादव र चिनबहादुर गुरुङ, सचिवमा सरिता श्रीश, उपसचिवमा थानेश्वर खरेल, टंक पोखरेल र मिरा श्रेष्ठ चयन भएका छन् ।
प्रकाशित मिति : २५ असार २०७९, शनिबार १९:५३












