अध्यक्ष र सचिव नै कारबाहीमा पर्ने भएपछि एमाले नुवाकोटको समिक्षा औपचारिकतामै सीमित
१८ असार, नुवाकोट । नेकपा एमाले नुवाकोटको चुनावी समिक्षा औपचारिकतामै सीमित हुने भएको छ । पार्टी जिल्ला कमिटीका अध्यक्ष बद्री मैनाली र सचिव सुदर्शन नेपाल नै कारबाहीमा पर्ने भएपछि चुनावी समिक्षा औचारिकतामा सीमित हुन लागेको जिल्ला कमिटीका एक सचिवालय सदस्यले दैनिकीलाई जानकारी दिए ।
वैशाख ३० को स्थानीय तह निर्वाचनपछि पहिलो पटक असार १७ गते शुक्रबार जिल्ला पार्टी कार्यालय विदुरमा बसेको एमालेको जिल्लाको सचिवालय बैठकमा समिक्षाको चर्चा चलेपनि एकअर्काको बीचमा आरोपप्रत्यारोप चलेर पार्टी जिल्ला कमिटीका पदाधिकारी नै कारबाही पर्ने कुरा आएपछि समिक्षाको बारेमा ठोस निर्णय नै भएको छैन ।
एमाले नुवाकोटका उपसचिव निलकण्ठ आचार्यले दिएको जानकारी अनुसार शुक्रबारको एमाले सचिवालयको बैठकले प्रदेश कमिटी सदस्य ध्रुव अधिकारीलाई कारबाही गर्न प्रदेश कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको छ । अधिकारी चुनावअघि नै एमाले परित्याग गरेर नेकपा एकीकृत समाजवादीका तर्फबाट सूर्यगढी गाउँपालिकाको अध्यक्षमा उम्मेदवार भएका थिए ।
त्यस्तै उपसचिव आचार्यका अनुसार बेलकोटगढी नगरपालिकाका माधव पाण्डे र रूपा थापालाई साधारण सदस्य समेत नरहनेगरी निष्कासन गरिएको छ । पाण्डे वैशाख २ गते एमाले अध्यक्ष केपी शर्मा ओली नुवाकोट पुगेको दिन पेरिसडाँडा पुगेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
आचार्यले पार्टी जिल्लाको आर्थिक विभाग प्रमुखको जिम्मेवारी उपसचिव काशिराज अधिकारीबाट खोसेर अरूणकुमार श्रेष्ठलाई दिने निर्णय भएको छ । अधिकारीले विभागको जिम्मेवारी पूरा गर्न नभ्याउने बताएपछि श्रेष्ठलाई जिम्मेवारी दिइएको आचार्यले बताए । जिल्ला पार्टी कार्यालयको विस्तारका लागि एक उपसमिति निर्माण गरिएको र त्यसको संयोजकमा उपसचिव आचार्य स्वंय तोकिएका छन ।

अध्यक्ष बद्री मैनालीले दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष, पञ्चकन्या गाउँपालिकाको अध्यक्ष, शिवपुरी गाउँपालिकाको वडा अध्यक्ष र ककनी गाउँपालिकाको वडा अध्यक्षको उम्मेदवारको टिकट वितरणमा स्थानीय कमिटीको निर्णय र भावनाविपरित टिकट वितरण गर्न भूमिका खेलेको आरोप लागेको छ । त्यस्तै तारकेश्वर गाउँपालिकाको अध्यक्षमा प्रदेश कमिटीको निर्णयविपरित जिल्ला कमिटीकै सदस्य विष्णु तारूकेलाई बागी उम्मेदवारको रूपमा उभ्याएका थिए । यद्यपी चौतर्फी दबाबपछि तारूकेले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका थिए ।
त्यस्तै जिल्ला कमिटी सचिव सुर्दशन नेपालले बेलकोटगढी नगरपालिकामा प्रमुख र उपप्रमुखदेखि वडा अध्यक्षहरू समेत हराउनका लागि भूमिका खेलको आरोप लगेको छ भने कार्यपालिको चुनावमा उनकै प्रत्यक्ष संलग्नतामा नेपाली कांग्रेसलाई भोट बेचिएको थियो । एमालेको उम्मेदवारलाई भोट नदिएर नेपालले कांग्रेसको उम्मेवारलाई भोट दिन उर्दी जारी गरेका थिए ।
विदुर नगरपालिकामा पनि एमालेमा चर्को अन्तरघात देखिएको छ । प्रदेश कमिटीका केही सदस्यले प्रमुखको उम्मेदवार सञ्जु पण्डित हराउनका लागि विपक्षीका लागि मत मागेको र उपप्रमुखलाई हराउनका लागि निर्वतमान उपप्रमुख गीता दाहालसहितले माओवादीको उम्मेदवारका लागि अभियान नै चलाएको आरोप लागेको छ ।
तारकेश्वर गाउँपालिमा पार्टी केन्द्रीय सदस्य उषाकिरण तिमल्सिना, निवर्तमान जिल्ला अध्यक्ष नारायण खतिवडा र पार्टीको जिल्ला कमिटीका सचिवालय सदस्य हरि अधिकारी र गाउँपालिकाको पूर्व उपाध्यक्ष तारा रिमाल लगायते देखिने गरी नै पार्टीको उम्मेदवरको विरूद्धमा असहयोग गरेको आरोप लगेको छ ।
सचिवालयमा अन्तरघात गर्नेमाथि कारबाहीको कुरा उठ्ने वित्तिकै सचिवालय सदस्य यम खतिवडाले के अब कोतपर्व मच्चाउने हो भन्दै समिक्षाको विषयमा छलफल आवश्यक नभएको आशय उठाएका थिए । उनले कसले कसलाई कारबाही गर्ने भन्दै प्रश्न उठाएका थिए । खतिवडा नारायण खतिवडका स्वकीय सचिव समेत हुन ।

त्यस्तै सूर्यगढी गाउँकमिटीका अध्यक्ष एवं गाउँपालिका अध्यक्षका प्रत्याशी राजु रिजालले नामै लिएर घकुमार लामाले चुनावमा असहयोग गरेको बताएपछि लामाले बैठकमै रिजालको प्रतिवाद गरेका थिए । अन्तरघात र टिकट वितरणको कारण चुनावमा नराम्रोसँग पराजय व्यहोर्नुपरे पनि एमाले नुवाकोटले अब गठबन्धनका कारण चुनाव हारेको निष्कर्ष निकालेर अघि बढ्ने एक पदाधिकारीले जानकारी दिए ।
जिल्ला कमिटीको सचिवाय बैठकमा बोल्नेक्रममा अध्यक्ष मैनालीको लाइनमा प्रष्टसँग जम्मा दुई जना राजेन्द्र रिजाल र राजेन्द्रप्रकाश पाण्डेमात्र उभिएका थिए । बैठकमा एमाले केन्द्रीय सदस्य एवं नुवाकोट इन्चार्ज विन्दा ढुंगाना र एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष केशव पाण्डेले पनि मन्तव्य राखेका थिए ।
एमालेले सचिवालय बैठकमा छलफलका लागि यस्ता प्रस्तावहरु राखेको थियो
१ स्थानिय तह निर्वाचन २०७९ वैशाख ३० को समिक्षा
२ सदस्यता नविकरण तथा अनुसुची ६ अर्न्तगतका सदस्यता र संगठन विभाग व्यवस्थित गर्ने सम्बन्धमा
३ कार्यालय भवन थप, कार्यालय भवन निर्माण उप कमिटी गठन सम्बन्धमा
४ आर्थिक विभागको जिम्मेवारी हेरफेर तथा खाता संञ्चालन सम्बन्धमा
५ अनुसुची ६ अर्न्तगतका सदस्यको जिम्मेवारी व्यवस्थापन सम्बन्धमा
६ लेवी सम्बन्धमा
७ पार्टी हित विपरित काम तथा पार्टी परित्याग गरेकालाई कारबाही र सिफारिस सम्बन्धमा
८ पालिका र वडा कमिटी विशेष अधिवेशन सम्बन्धमा
९ निवार्चित जन प्रतिनिधीहरुलाई बधाई तथा अभिमुखिकरण र प्रशिक्षण सम्बन्धमा
१० विविध
प्रकाशित मिति : १८ असार २०७९, शनिबार १६:५२












