१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

नुवाकोटको बेलकोटगढीमा पनि बेचियो एमालेको भोट, पार्टीको भोट २३, उम्मेदवारले पाए १ र २ भोट

१७ जेठ, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाको नगरकार्यपालिकाको चुनावमा एमालेका प्रतिनिधिहरूको मत नेपाली कांग्रेसलाई बेचिएको पाइएको छ । सूर्य चिन्हबाट निर्वाचित भएका प्रतिनिधले रूख चिन्हका उम्मेदवारलाई मत दिएर आफ्नो इमान्दारिता बेचेका छन ।

यद्यपी बेलकोटगढीमा स्वयं एमालेका मतदाताको निर्णयमा मत बिकेको भने होइन । स्रोतका अनुसार नेकपा एमालेको नुवाकोट जिल्ला कमिटीका सचिव सुदर्शन नेपाल र बागमती प्रदेश कमिटीका सदस्य राजेन्द्ररमण खनालको निर्देशनमा एमालेका जनप्रतिनिधिले कांग्रेसका उम्मेदवारलाई मत दिएका हुन ।

नेकपा एमालेको नुवाकोट जिल्ला कमिटीका सचिव सुदर्शन नेपाल र बागमती प्रदेश कमिटीका सदस्य राजेन्द्ररमण खनाल ।

कुनै लिखित सहमति र सम्झौता वा तालमेल विनानै दुई जना नेताको निर्देशनमा कांग्रेसका लागि मत बिक्री भएपछि एमालेका कार्यकर्ताहरूले सामाजिक सञ्जालमा नेतृत्वको आलोचना सुरू गरेका छन । बेलकोटगढीमा नेपाली कांग्रेस माओवादीले तालमेल गरेर कार्यपालिका बनाउने पूर्व सहमति गरेर समाजिक सञ्जालमा समेत छ्यापछ्याप्ती भैसकेको अवस्थामा एमालेका नेताहरूको निर्देशनमा जनप्रतिनिधिले सूर्य ध्वजाबाहक उम्मेदवारलाइ मत नै नदिइ रूख चिन्हमा उम्मेदवारलाई मत दिएका हुन ।

एमालेको एक जना उम्मेदवारले मात्र पार्टीको पूरै मत पाएकी छिन । बाँकीले कसैले पनि पार्टीकै मत पनि पाएनन् । नगरकमिटीका अध्यक्ष रूपा सापकोटाले कांग्रेस र माओवादीको सहमति भैसकेको अवस्थामा आफ्ना उम्मेदवारको मत सुरक्षित गरिनुपर्ने अवाज उठाए पनि पार्टीका दुई नेताको अघि उनी निरीह बनेको प्रत्यक्षदर्शीले बताएका छन । एमालेका प्रतिनिधिकोबीचचमा नेपाल र खनालले ८ सिटमध्ये ६ सिटमा रूखमा मत दिन अपिल गरेका थिए भने जम्मा २ सिटमा मात्र एमालेका लागि मत दिन अपिल गरेका थिए ।

कांग्रेस र माओवादीले कार्यपालिकामा गरेको गठबन्धन ।

एमालेबाट उम्मेदवार भएकी कल्पाना नेपालीले २३ मत, ज्ञानु सिग्देलले १ मत, रमा तामङले २२ मत, राधाकुमारी पौडेलले २ मत र सीता पाण्डेले २ मत प्राप्त गरेका छन । कुल ६७ सिट रहेको बेलकोटगढी नगरपालिकामा एमाले २३ सिटमा विजयी भएको थियो ।

एमालेको आफ्नो उम्मेदवारले १ र २ मत मात्र पाएपछि जनप्रतिनिधिहरू लाजले मुख छोप्दै घर फर्किएका थिए । यसअघि एमालेले उम्मेदवारकै कारण बाेलकोटगढी नगरपालिकाको नेतृत्व गुमाएको थियो । २०७४ सालको चुनावमा १० वटा वडा र नगरप्रमुखमा विजयी भएको एमाले अहिले जम्मा चार वटा वडामा पूर्ण नेतृत्व र एउटा वडामा अध्यक्षबाहेकका तीन सदस्यमा सीमित भएको छ ।

कार्यपालिकामा ५ सदस्यमा कांग्रेसका र तीन सदस्यमा माओवादीका उम्मेदवार विजयी भएका छन । कार्यपालिकामा समिता मिजार, गमला लामा, विमला सुनार, अनुराधा श्रेष्ठ, प्रमिला मिजार, कृष्णबहादुर भुजेल, सीताराम विश्वकर्मा र लालबहादुर विश्वकर्मा विजयी भएका छन ।

प्रकाशित मिति : May 31, 2022 at 10:29 pm