१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

मेलम्चीको सुरूङमार्गको ढोका बन्द गरिएसँगै खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक

१७ जेठ, काठमाडाैँ । काठमाडौं उपत्यकामा खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक गरिएको छ । मेलम्ची खानेपानीको मुल ढोका बन्द गरिएसँगै नयाँ तालिका सार्वजनिक गरिएको हो ।

मेलम्चीको मुहानमा गेग्रानसहितको धमिलो पानी सुरूङमा जान थालेपछि मंगलबार बिहान ८ बजेदेखि मेलम्चीको खानेपानीको मुल ढोका बन्द गरिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले काठमाडौंमा वितरण गरिने खानेपानीको नयाँ तालिका सार्वजनिक गरेको हो ।

९ वटा शाखा रहेको केयूकेएलको महाँकालचौर शाखाले नयाँ तालिका सार्वजनिक गरेको छ । त्यस्तै अन्य शाखाले पनि पानी वितरणको नयाँ तालिका सार्वजनिक गर्दैछन् ।

मेलम्चीको पानी आउन रोकिएपछि महाँकालचौर शाखाले सुन्दरिजल मुहानबाट संकलन हुने खानेपानी र गोकर्णबाट डिप बोरिङबाट संकलन हुने खानेपानी बितरण गर्न लागेको हो ।

शाखा प्रमुख उमेशबाबु मरहठ्ठाका अनुसार महाँकालचौर शाखा अन्तर्गत रहेका केसर महल, ईन बहाल, ठमेल, ज्याठा, माली गाउँ, हाडी गाउँ, नक्साल, बागबजार, माइतीघर गौरीघात, मैजुबहल, क्षेत्रपाटी, अनामनगर, मैतीदेवी घट्टेकुलो, डिल्ली बजार पिपलबोट, बौद्ध, जोरपार्टी, त्रिपुरेश्व, ज्ञानेश्वर, पुरानो बानेश्वर लगायतका क्षेत्रमा अब नयाँ तालिका अनुसार पानी वितरण गरिनेछ ।

एक दिनदेखि ८ दिनको फरकमा पानी वितरणको तालिका रहेको छ । अन्य शाखाहरूले समेत पानीको नयाँ तालिकाका लागि छलफल थालेका छन् । गत असार १ गते आएको बाढीसँगै मेलम्ची खानेपानीको मुहानमा क्षति पुगेको थियो । त्यहि बेलादेखि बन्द रहेको मेलम्चीको मुहान १२ बैशाखमा खोलिएको थियो । अस्थायी रूपमा मर्मत सम्भार गरेर मेलम्चीको पानी सुरूङमार्ग हुँदै काठमाडौं उठाइएको थियो ।

मेलम्ची खानेपानी आयोजनाको मुहानमा वर्षा शुरू भएकाले टनेलभित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश भएपछि टनेलको मुख्य ढोका बन्द गरिएको थियो । ढोका बन्द गरिएसँगै मेलम्ची खानेपानी काठमाडौं आउन बन्द भएको छ । अब वर्षापछि मात्रै मेलम्चीको पानी काठमाडौंमा आउनेछ ।

प्रकाशित मिति : May 31, 2022 at 8:13 pm