२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

भोट सुरक्षित गर्न एमाले विदुरको प्रशिक्षण हेटाैँडामा, कांग्रेसले जनप्रतिनिधि खरिद गर्ने त्रास


१६ जेठ, नुवाकोट । राजनीतिमा अनेक खालका परिघटना हुने गरेका छन । केन्द्रीय सत्ताको राजनीतिमा जनप्रतिनिधिहरू खरिदबिक्री हुने गरेको कुरा नौलो हुन छाडिसकेको छ । अध्यादेशबाट नेकपा एमाले फुटाएर बनाइएको नेकपा एकीकृत समाजवादीको दर्ता पूर्व केन्द्रीय सदस्य र सांसदलाई दुई दिनसम्म बैठकको नाममा थुनेर राखिएको थियो ।

जुन सबैका सामू छर्लङ्ग नै छ । त्यस्तै जनता समाजवादी पार्टीको विभाजन पूर्व भक्तपुरको एक होटलमा दुई दिनसम्म सांसदहरूलाई थुनेर राखिएको थियो । थुन्नको एउटै कारण थियो आफ्नो पक्षबाट अर्को पक्षमा पुग्छन कि भन्ने ।

स्थानीय तहमा जनप्रतिनिधि खरिदबिक्रीमा पर्छन भन्ने कुराको पुष्टि काठमाडौँको चन्द्रागिरी नगरपालिकाको कार्यपालिको चुनावमा देखिइसकेको छ ।  जसको परिणामस्वरूप प्रमाण समेत पाएको भन्दै नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीका तर्फबाट निर्वाचित भएका वडा अध्यक्षलाई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निस्कासन गरेको छ ।

नुवाकोटको विदुर नगरपालिकाको नगरसभा र नगर कार्यपालिका दुबैमा अल्पमतमा पर्ने भएपछि नेपाली कांग्रेसले एमालेका केही प्रतिनिधि खरिदको सूचना पाएपछि नेकपा एमालेले विदुर नगरपालिकामा एमालेबाट निर्वाचित भएका प्रतिनिधिको प्रशिक्षण नाम दिएर कार्यपालिकाको निर्वाचनमा मनोनयन गरेर आफ्नो प्रतिनिधि हेँटौँडा पुर्याएको छ ।

जनप्रतिनिधिका लागि प्रशिक्षण भए पनि आफ्नो भोट जोगउन र विदुरको नगरसभा र कार्यपालिका दुबैमा आफ्नो बहुमत कायम गर्ने एमालेले यस्तो रणनीति अख्तियार गरेको एमाले स्रोतले जनाएको छ । कांग्रेसले नगरसभामा बहुमत पुर्याउन नसके पनि नगरकार्यपालिकामा भने बहुमत पुर्यायउने पर्यत्न गरिरहेको छ ।

कांग्रेसबाट विदुर नगरपालिकाको प्रमुखमा विजयी भएका राजनलाल श्रेष्ठले पार्टी भित्रै मोटो रकम खर्च गरेर टिकट किनेको देखि चुनावमा एमालेको मत नगदमै किनके आरोप लागिरहेको छ । एमालेभित्रै प्रमुख र उपप्रमुखमा अरन्तरघात भएको कुरा एमालेकै नेताहरूले भोटको ट्रेण्ड सहित बताउँदै आएका छन । त्यही कारणले पनि एमाले त्रसित भएको हुनसक्ने अनुमान कांग्रेसका नेताहरूले गरिरहेका छन ।

कांग्रेसले चार मत किन्न एक करोडसम्म खर्च गर्ने कुरा चिया पसलसम्म नै पुगेपछि एमालेले आफ्ना प्रतिनिधि प्रशिक्षणका नाममा हेटौँडा पुर्याएको हो । जेठ १५ गते हेटौँडा पुगेका एमालेका प्रतिनिधि जेठ १८ गतेमात्र विदुर नगर कार्यपालिकाको चुनावमा सहभागी हुनेगरी पुग्दैछन ।

६७ सदस्य रहेको विदुर नगरपालिकाको नगरसभामा एमाले एक्लैको ३७ सिट रहेको छ । कांग्रेस, माओवादी र जसापको गरी जम्मा ३० सिट रहेको छ । जसमा विदुर ९ का वडा अध्यक्ष भ्रष्टाचार मुद्दामा निलम्बर भएका कारण गठबन्धनको एक सिट घटेको छ । मत तलमाथि नभए नगरसभा र नगर कार्यपालिका दुबैमा एमालेको स्पष्ट बहुमत हुने देखिन्छ ।

विदुरका जनप्रतिनिधि चितवनको सौराहा हुँदै हेटौँडा लैजाने र हेटौँडाबाट कार्यपालिकाको चुनावको दिनमात्र नुवाकोट ल्याउने सबै गतिबिधि गोप्य राख्ने सहमति भएको भए पनि जिल्ला कमिटीका अध्यक्ष बद्री मैनालीले आफ्नो फेसबुक वालबाट प्रशिक्षणको तस्बिर सार्वजनिक गरेका छन ।

तस्बीरमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक दीपक निरौला, बागमती प्रदेशका पूर्व मन्त्री एवं एमालेका बागमती प्रदेश कमिटीका अध्यक्ष केशवरजा पाण्डे, विदुर नगरपालिकाका प्रमुख र उपप्रमुखका प्रत्यासी, एमालेका तर्फबाट नगरपालिकाका इन्चार्ज सञ्जिव श्रेष्ठ र एमालेबाट विजयी भएका जनप्रतिनिधिहरू रहेका छन । तस्बिरहरूः एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीको फेसबुक

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार २१:४०