बजेटमार्फत शिक्षा, स्वास्थ्य निःशुल्क गर्न सरकारसँग नेता महरकाे आग्रह
१३ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आगामी बजेटमार्फत शिक्षा र स्वास्थ्यलाई निःशुल्क गर्न सरकारसँग आग्रह गरेका छन्।
संविधान कार्यान्वयनको चरणमा रहेको र संविधानमै शिक्षा र स्वास्थ्यलाई निःशुल्क गर्ने कुरा उल्लेख गरिएको स्मरण गराउँदै महरले संविधानको कार्यान्वयनका लागि शिक्षा र स्वास्थ्यलाई यसै बजेटमार्फत निःशुल्क गर्न आग्रह गरेका हुन्।
शुक्रबार विज्ञप्ति जारी गर्दै कांग्रेस केन्द्रीय सदस्य महरले शिक्षा र स्वास्थ्यलाई निःशुल्क गरे राज्यको दायित्व पूरा हुनाका साथै संविधानमा उल्लेख गरिएको समाजवादको आधार निर्माण गर्न मद्दत पुग्ने उल्लेख गरेका छन् । राज्यका नीति निर्माण लोक कल्याणकारी नीतिमा बनाउनुपर्ने र बजेटमार्फत जनताले दैनिक जीवनदेखि राज्यका सबै क्षेत्रको विकासका सहयोग पुग्ने गरी बनाउनुपर्ने महरको भनाइ छ।
महरले देउवा नेतृत्वको वर्तमान सरकारसँग जनअपेक्षा बढी भएका कारण त्यसलाई सहीरूपमा सम्बोधन गर्न पनि सरकारसँग आग्रह गरे। यातायात र सञ्चारसेवालाई सहज र सरल बनाउन तथा कृषि आधुनिकीकरण गर्ने र उद्यमशीलता सहितको रोजगारी सृजना हुने गरी बजेट विनियोजन गर्न पनि उनको आग्रह छ। नेविसंघको अध्यक्ष भएदेखि नै महरले शिक्षा र स्वास्थ्यको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने विषयलाई उठाउँदै आएका छन्।
प्रकाशित मिति : May 27, 2022 at 2:14 pm









