१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सयाैँ प्रहरी परिचालन गरेर आजदेखि बन्चरेडाँडामा फोहर विसर्जन गर्ने काम सुरू

१० जेठ, नुवाकोट । नुवाकोट र धादिङको सीमाना बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सुरू गरिएको छ । सरकारले बाक्लो प्रहरी परिचालन गरेर आजदेखि काठमाडौँ उपत्यकाको फोहर विसर्जन गर्नेकाम सुरू गरेको छ ।

बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न विसं २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो । शुरुमा सम्झौता गरिएको समयसिमा सकी २०७७ वैशाखमा पुनः एक वर्षका लागि समय थपेको थियो । उक्त समय पनि सकिएको छ । दोस्रोपटक थपिएको समयमा पनि निर्माणको जिम्मा पाएको कम्पनीले काम सम्पन्न नगरेपछि तेस्रोपटक समय थपेर काम गराइएको हो ।

निर्माणका लागि भ्याटबाहेक रु ३४ करोड ६८ लाख ७४ हजार ८९५ मा सम्झौता भएको थियो । निर्णयअनुसार बाँध निर्माणको काम शहरी विकास मन्त्रालयले गर्ने र विसर्जनस्थलसम्म जाने बाटो निर्माणको काम सडक विभागलाई दिएअनुरुप उक्त काम अहिले सम्पन्न भइसकेको छ । शहरी विकास तथा भवन निर्माण विभागले भने दीर्घकालीनरूपमा फोहर व्यवस्थापनका लागि कुहिने र नकुहिने फोहरलाई स्रोतबाट नै पहिचान गर्नुपर्ने जनाएको छ ।

तेह्र वर्षदेखि नुवाकोटको सिसडोलमा उपत्यकाकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ । अव्यवस्थितरूपमा लामो समयदेखि एकै स्थानमा फोहर विसर्जन गर्दा समस्या आएपछि स्थानीयवासीले व्यवस्थितरूपमा फोहर व्यवस्थापनस्थलको खोजी गर्न आग्रह गर्दै विरोध गर्दै आएका छन् ।

उपत्यकाबाट दैनिक करिब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । त्यसमा सबैभन्दा बढी कामनपाबाट करिब ६०० मेट्रिक टन फोहर निस्कने गरेको छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । हरेक दिन उपत्यकाबाट निजी र महानगरपालिकाका गरी २०० गाडी फोहर लगिने गरिएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार ०९:१०