३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

झापा गोल्डकपको क्वाटरफाइनलमा आज झापा ११ र सिक्किम युनाइटेड प्रतिस्पर्धा गर्दै


२३ फागुन, झापा । झापाको बिर्तामोडमा जारी तेस्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज पहिलो क्वाटरफाइनल खेलमा झापा ११ र सिक्किम युनाइटेड प्रतिस्पर्धा गर्दैछन् । यसअघि हिजो भएको खेलमा लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी विजयी बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

सहारा फुटबल क्लब पोखरालाई टाइब्रेकरमा ५–३ को गोल अन्तरले पराजित गर्दै मनाङ मस्र्याङ्दी सेमिफाइनलमा प्रवेश गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिता गोलरहित बराबरीमा सकिएपछि प्रतियोगिताको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

राष्ट्रिय खेलाडीले भरिएको मनाङले जितका लागि टाइब्रेकरको सहयोग लिनुपरेको थियो । टाइबे्रकरमा सहारा फुटबल क्लब पोखराका भीषण गुरुङको प्रहार बाहिरिएको थियो भने टीम कप्तान समेत रहेका मानबहादुर तामाङको प्रहार मनाङका गोलरक्षक दिनेश थापामगरले बचाएका थिए ।

मनाङका तर्फबाट सुजल श्रेष्ठ, विमल बस्नेत, अन्जन बिष्ट, डोना थापाको प्रहारले जाली चुमेको थियो । पोखराका विजय श्रेष्ठ, रन्दिप पौडेल र विशव अधिकारीले मात्र गोल गर्न सकेका थिए । खेलको ‘म्यान अफ द म्याच’ मनाङका अन्जन विष्ट घोषित भए । उनले रु २५ हजार पुरस्कार पाएका छन् । बुधबारको पहिलो क्वार्टरफाइनल खेल आयोजक रमपम झापा ११ र सिक्किम युनाइटेडबीच हुनेछ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७४, बुधबार ०६:१२