हेटौंडाको मेयरमा पहिलो महिला मीना कुमारी लामा
-राजन कटुवाल
७ जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट उम्मेदवारी दिएकी नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा विजयी भएकी छिन् । बागमती प्रदेशकै एक मात्र उपमहानगरपालिका र प्रदेशको राजधानी रहेको हेटौंडामा लामा पहिलो महिला मेयर बनेकी हुन् । कुल ७३ हजार ४१४ भोट खसेको हेटौंडामा लामाले २३ हजार ७५ मत ल्याएकी छिन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले २० हजार ९०८ मत सहित दोस्रो स्थानमा रहे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बहादुर सिंहले २० हजार ५३१ मत प्राप्त गरे । नेकपा एमालेले निरन्तर जित हासिल गरेको हेटौंडामा मेयर जित्नको लागि लामालाई त्यति सहज देखिँदैनथ्यो ।
एमालेको लालकिल्ला रहेको हेटौंडामा पाँच दलीय सत्ता गठबन्धनबाट लामाले उम्मेदवारी दिएकी थिइन् । लामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरको उपमेयरमा विजयी भएकी थिइन् । नेकपा एमालेको विभाजन पछि लामा नेकपा एसबाट सक्रिय राजनीतिमा लागेकी थिइन् । एक कार्यकाल उपमेयर भएर काम गरेकी लामा जिल्लाको पहिलो मेयर भएर इतिहास रचेकी हुन् । त्यसैगरी, गठबन्धनकै तर्फबाट उपमेयरका उम्मेदवार बनेका नेपाली कांग्रेसका राजेश बानियाँले ठूलो मतान्तरले विजय हासिल गरेका छन् ।
बानियाँले ३२ हजार ५९३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले २३ हजार ९०९ मत प्राप्त गरेकी छिन् । राप्रपाकी उम्मेदवार इन्दिरा न्यौपाने डल्लाकोटीले ५ हजार ४८३ मत सहित तेस्रो स्थानमा रहिन् । लामा आफ्नो पार्टीभित्रकै चरम असन्तुष्टिबीच चुनावी मैदानमा होमिएकी थिइन् । नाम सिफारिस भए पनि टिकट नपाएपछि तत्कालीन नेकपा एसका जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेका थिए । कांग्रेसका रुष्ट नेता तथा कार्यकतालाई बिस्तारै फकाउँदै लामाले आफ्नो पक्षमा मतदान गर्ने वातावरण सिर्जना गरिन् ।
विशेष गरी तामाङ बाहुल्य बसोबास रहेको हेटौंडा १२, १३ बाट ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्ने वातावरण उनले आफ्नो अगुवाईमा तयार पारिन् । एमालेको गढ मानिएको हेटौंडा ७, ८, ९ बाट पनि लामाले राम्रै मत प्राप्त गरिन् । करिब ४ हजार मत गणना बाँकी रहँदै एमालेका उम्मेदवार अनन्त पौडेल र सुमित्रा काफ्लेले मतगणना स्थलमै गएर लामा र बानियाँलाई बधाई दिएका थिए ।
लामाले २०४६ सालमा विद्यार्थी जीवनबाट नै राजनीतिमा यात्रा सुरु गरेकी थिईन् । २०५२ मा अनेरास्ववियू मकवानपुरको जिल्ला कोषाध्यक्ष भई काम गरेर राजनीतिसँगै अध्ययनलाई अगाडी बढाउदै गर्दा २०५४ सालमामा हेटौंडा १ का सुनकुमार लामासँग उनको विवाह भयो । लामा २०७१ सालमा अखिल नेपाल महिला संघ मकवानपुर जिल्ला सचिव र २०७२ सालमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघको केन्द्रीय सदस्य बनेकी थिइन् ।
प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार १५:५०