७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

गणतन्त्र दिवस तीन दिन मनाइने


५ जेठ, काठमाडौँ । सरकारले यस पटक तीन दिनसम्म गणतन्त्र दिवस मनाउने भएको छ । यही १४, १५ र १६ जेठमा सरकारले गणतन्त्र दिवस मनाउने भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बिहीबार बसेको ‘गणतन्त्र दिवस २०७९’ मुल समारोह समितिको बैठकले दिवसलाई तीन दिनसम्म विभिन्‍न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो ।

निर्णयअनुसार १४ जेठको साँझ संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयले राष्ट्रिय झण्डा एवं ब्यानर सजाइ साँझ दिपावली गर्नुपर्ने भएको छ । सरकारले उक्त दिन आम नागरिकलाई दिपावली गर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

१५ जेठमा भने हेलिकोप्टरबाट पुष्पबृष्टि र झण्डा प्रदर्शन गरी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम गरिने मूल समारोह समितिका सदस्य सचिवसमेत रहेका गृहसचिव टेकनारायण पाण्डेले जानकारी दिए ।

सोही दिन साँझ आम नागरिक र सरकारी तथा सार्वजनिक कार्यालयहरूले आ–आफ्नो घर, कार्यालय एवं सार्वजनिक स्थलहरूमा दिपावली गर्ने कार्यक्रम तय भएको छ ।

१६ जेठमा भने रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट जागरण गीत प्रसारण गर्ने तथा देशवासी र सरकारी तथा सार्वजनिक निकायहरूले आ–आफ्नो घर, कार्यालय एवं सार्वजनिक स्थलहरूमा साँझ दिपावली गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै, विदेशस्थित नेपाली राजदूतावास, नियोग तथा वाणिज्य दूतावासहरूमा राष्ट्रिय झण्डा फहराउने र दीप प्रज्वलन गर्ने निर्णय पनि मूल समारोह समितिले गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मन्त्रीहरू, संवैधानिका निकायका प्रमुखहरू, प्रधान सेनापति, विशिष्ठ श्रेणीका राजपत्रांकित कर्मचारीहरू र सुरक्षा निकायका प्रमुखहरूलागयत रहनेगरी मूल समारोह समिति गठन गरिएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहीबार १३:०९