३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

राष्ट्रपतिका लागि अाज उम्मेदवारी दर्ता, वाम गठबन्धनबाट वर्तमान राष्ट्रपति भण्डारी उम्मेदवार


२३ फागुन, काठमाडाैँ । राष्ट्रपतिका लागि अाज उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । यही फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अायोगले अाजका लागि उम्मेदवारी दर्ताको समय ताेकेको छ । अायोगले यसअघि साेमबार नै मतदाता नामावली प्रकाशन गरसकेको छ । मतदातामा संघीय संसद र प्रदेश संसदका सदस्यहरू रहेका छन ।

राष्ट्रपति निर्वाचनका लागी संघ र प्रदेशका सदस्यको मतभार फरक फरक हुने छ । संघीय संसद्मा कायम प्रतिनिधिसभाका २७५ र राष्ट्रिय सभाका ५९ गरी कुल ३३४ सदस्यको मतभार एक सांसद बराबर ७९ र प्रदेश सभाका कुल ५ सय ५० सांसदको एक सांसद बराबर ४८ हुने छ ।

राष्ट्रपतिमा सत्तारूढ नेकपा एमालेले विद्यादेवी भण्डारीलाई नै निरन्तरता दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गएराित सम्पन्न स्थायी कमिटी बैठकले राष्ट्रपति भण्डारीलाई नै दोस्रो कार्यकालका लागि उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार आफ्नो भागमा परेको राष्ट्रपतिमा एमालेले निर्णय लिएसँगै भण्डारी आगामी पाँच वर्षका लागि पुनः राष्ट्रप्रमुखको भूमिकामा रहने निश्चित भएको छ ।

एमाले, माओवादी सरकारमा संघीय समाजवादी फोरमसमेत सहभागी हुने निर्णयपछि सत्तारूढ गठबन्धनको प्रतिनिधिसभामा दुईतिहाइ मत पुगेको छ । राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८८० जना मतदाता कायम रहेका छन् । ४ जनाले मतदान गर्न पाउने छैनन् ।

नेपालको वाम तथा लोकतान्त्रिक आन्दोलनकी सशक्त तथा अग्रणी नेतृ भण्डारी नेपालको संविधान जारी भएलगत्तै गणतन्त्र नेपालको प्रथम महिला राष्ट्रपति बनेकी थिइन् ।

५ असार ०१८ मा भोजपुरको मानेभञ्ज्याङमा बुबा रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेकी सुपुत्रीका रूपमा जन्मिएकी भण्डारी विद्यार्थीकालमै राजनीतिमा आएकी नेतृ हुन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७४, बुधबार ०६:२०