२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

एमाले जिताउन नसकेको भन्दै पञ्चकन्या अध्यक्ष खनालले दिए राजिनामा, बद्री मैनालीमाथि नैतिक दबाब


४ जेठ, काठमाडौँ । नेकपा एमाले नुवाकोटका नेता रामनाथ खनालले स्थानीय तहको निर्वाचनमा पार्टी जिताउन नसकेको भन्दै राजिनामा दिएका छन । एमाले पञ्चकन्या गाउँपालिका कमिटीमा अध्यक्ष समेत रहेका खनालले जिल्ला अध्यक्ष बद्री मैनालीलाई आफ्नो राजिनामा बुझाएका छन ।

२०७४ को स्थानीय तह निर्वाचनमा वडा नम्बर २ मा जितेको एमाले यसपटक पञ्चकन्या गाउँपालिकामा शून्य बन्न पुगेको छ । त्यसको जिम्मेवारी लिँदै आफूले नैतिकताको आधारमा राजिनामा दिएको खनालले जानकारी दिए । उनले पराजयको कारणहरूका बारेमा पार्टीको कमिटीबाट बसेर समिक्षा गर्ने बताउँदै उनले नैतिक रूपमा गाउँकमिटीको अध्यक्षको जिम्मेवारी लिन नसक्ने भन्दै राजिनामा पेश गरेका छन ।

२०७४ को चुनावमा पञ्चकन्या २ मा वडा अध्यक्षमा विजयी भएका ध्रुव मिश्र सामाजिक सुरक्षा भत्ताको ५३ लाख चोरीमा विवादित बनेका थिए । उनको भूमिका शंकास्पद रहेको छानविन समितिले बताइसकेको थियो तर एमालेले २ नम्बरमा पुनः उनैलाई उम्मेदवार बनाएको थियो ।

एमालेले पञ्चकन्यामा नेकपा एमालेका पहिल्यैदेखि लागेका नेता कार्यकर्तालाई पाखा लगाएर केही साताअघिमात्र नेपाली कांग्रेसबाट एमाले प्रवेश गरेका यमबहादुर थापालाई अध्यक्षको टिकट दिएको थियो । पञ्चकन्या गाउँपालिका इन्चार्ज पार्टी जिल्ला अध्यक्ष बद्री मैनालीका स्वकीय सचिव रहेका छन ।

एमालेका कार्यकर्ताहरूले गाउँकमिटीका अध्यक्षमा खनाल र सचिव शिवराम गौतम मध्ये एकलाई टिकट दिन अनुरोध गरेका थिए तर थापालाई एमाले प्रवेश गराउँदा नै टिकट ग्यारेन्टी गरेका कारण नेतृत्वको इच्छा अनुसार थापाका नाममा टिकट दिइएको थियो । थापा आफू अध्यक्ष बन्न त सकेनन् नै उनले आफ्नो वडा पनि जिताउन सकेनन् ।

पञ्चकन्या गाउँ कमिटीका अध्यक्ष खनालले नैतिकताको आधारमा राजिनामा दिएपछि जिल्ला अध्यक्ष मैनाली माथि नैतिक दबाब थपिएको छ । नुवाकोटमा निर्वाचन अघि नै प्रमुख अतिथि को बन्ने भनेर आन्तरिक मनमुटावमा लागेका नेताहरूले पार्टी र जनताको पक्षमा भिजेका उम्मेदवारहरू भन्दा पनि आफ्नो वरिपरि घुम्नेहरू खोजी गर्दा नुवाकोटमा अहिलेसम्मै सबैभन्दा कमजोर नतिजा देखिएको छ ।

नेतृत्वको टिकट वितरणको गतल निर्णयका कारण एमाले यसपटक नुवाकोटमा दुप्चेश्वर, लिखु, बेलकोटगढी, तारकेश्वर र म्यागङमा जित्ने सम्भावना भएर पनि भारी मतमा पराजित हुन पुगेको छ । विदुर नगरपालिकामा पनि एमालेको मत नेपाली कांग्रेसलाइ बेचिएको भन्दै आलोचना सुरू भएको छ ।

वडा नम्बर २, वडा नम्बर ४ र वडा नम्बर ५ मा एमालेका अन्य उम्मेदवराले पाएको मत करिब ६ सय मत मेयरका उम्मेदवारले पाउन सकेनन् । एमालेका जिल्ला उपाध्यक्ष बुद्धि प्रधान, विदुर नगरपालिकाका इन्चार्ज  सञ्जिव श्रेष्ठ र नगरकमिटीका अध्यक्ष नविन प्रधान समेत वडामा एमालेका मेयरका उम्मेदवार कांग्रेस भन्दा निकै कमजोर बन्न पुगे ।

वडामा प्यानल नै जिते पनि एमालेका मेयर र उपमेयरको उम्मेदवारले पार्टीकै पुरै मत पाउन सकेनन् । विदुर ३ मा पार्टीकै केही नेता लागेर वडा नम्बर ३ मा कांग्रेसलाई जिताएको भन्दै असन्तुष्टि पनि देखिएको छ ।

नेताहरूको संरक्षणमा केही कार्यकर्ताले कांग्रेसका वडा अध्यक्षका उम्मेदवारका लागि मत मागेको रेकर्ड नै रहेको भन्दै पार्टीभित्र गम्भीर समिक्षा गर्ने त्यहाँका स्थानीय कार्यकर्ताले बताएका छन । बेलकोटगढी नगरपालिकामा सबै जसो उम्मेदवारले व्यक्तिगत भोटको लबिङ गर्दा महत्वपूर्ण वडाहरू समेत गुमेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार १२:४५