९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

अब बलात्कार गरेमा सर्वश्वसहित आजीवन कैद 

८ भदौ,काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा महिलाविरुद्धको हिंसा अन्त्य गर्न संकल्प प्रस्ताव प्रस्तुत भएको छ । सदनमा सङ्कल्प प्रस्ताव प्रस्तुत गर्न २२ जना सांसदले हस्ताक्षर गरी असार २१ गते संसद् सचिवालयमा प्रस्ताव दर्ता गराउनुभएको थियो । मुलुकी फौदजारी संहिता संशोधनको प्रक्रियामा रहेको भन्दै सांसद विन्दा पाण्डेले जबरजस्ती करणीमा सर्वश्वसहित आजीवन कैदको व्यवस्था गर्न माग गरेकी छन् ।

सदनको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तावलाई प्रस्तुत गर्नुभयो । सङ्कल्प प्रस्तावमा नेपालको संविधानबमोजिम नेपाल पक्ष राष्ट्र भएको महिलामाथि हुने सबै प्रकारका विभेद्विरुद्धको महासन्धिलगायत अन्तर्राष्ट्रिय अभिसन्धिहरुले शारीरिक, मानसिक, यौनजन्य मनोवैज्ञानिक एवं अन्य कुनै पनि प्रकारको महिला हिंसा अन्त्य गर्न माग गरिएको छ ।

दाइजोको निहुँमा हुने कुटपिट, अन्धविश्वास, शोषणविरुद्ध जनचेतना अभियान चलाई सामाजिक न्याय र समानताको लागि विद्यालय तहका पाठ्यक्रममा नै समावेश गर्न सरकारलाई निर्देशन दिइयोस् भन्ने प्रस्तावमा उल्लेख छ ।

सांसद विन्दा पाण्डे, पुष्पा भुसाल, रेखा शर्मा, कृष्णभक्त पोखरेल, निरु पाल, मैनाकुमारी भण्डारी, पार्वतीकुमारी विशङ्खे, बिनाकुमारी श्रेष्ठ, लक्षमीकुमारी चौधरी, नवराज रावत, तुल्सी थापा, अमृता थापालगायत २२ सांसदले उक्त प्रस्ताव दर्ता गराउनु भएको हो ।

प्रकाशित मिति : August 24, 2018 at 1:13 pm