३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

विद्यादेवी भण्डारीलाई नै राष्ट्रपतिमा निरन्तरता दिने एमालेको निर्णय


२३ फागुन, काठमाडाैँ । सत्तारूढ नेकपा एमालेले विद्यादेवी भण्डारीलाई नै राष्ट्रपतिमा निरन्तरता दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मध्य राति १२ बजेसम्म बसेको स्थायी कमिटी बैठकले राष्ट्रपति भण्डारीलाई नै दोस्रो कार्यकालका लागि उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार आफ्नो भागमा परेको राष्ट्रपतिमा एमालेले निर्णय लिएसँगै भण्डारी आगामी पाँच वर्षका लागि पुनः राष्ट्रप्रमुखको भूमिकामा रहने निश्चित भएको छ ।

एमाले, माओवादी सरकारमा संघीय समाजवादी फोरमसमेत सहभागी हुने निर्णयपछि सत्तारूढ गठबन्धनको प्रतिनिधिसभामा दुईतिहाइ मत पुगेको छ । राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८८० जना मतदाता कायम रहेका छन् । ४ जनाले मतदान गर्न पाउने छैनन् ।

राष्ट्रपति निर्वाचनका लागी संघ र प्रदेशका सदस्यको मतभार फरक फरक हुने छ । संघीय संसद्मा कायम प्रतिनिधिसभाका २७५ र राष्ट्रिय सभाका ५९ गरी कुल ३३४ सदस्यको मतभार एक सांसद बराबर ७९ र प्रदेश सभाका कुल ५ सय ५० सांसदको एक सांसद बराबर ४८ हुने छ ।

नेपालको वाम तथा लोकतान्त्रिक आन्दोलनकी सशक्त तथा अग्रणी नेतृ भण्डारी नेपालको संविधान जारी भएलगत्तै गणतन्त्र नेपालको प्रथम महिला राष्ट्रपति बनेकी थिइन् ।

५ असार ०१८ मा भोजपुरको मानेभञ्ज्याङमा बुबा रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेकी सुपुत्रीका रूपमा जन्मिएकी भण्डारी विद्यार्थीकालमै राजनीतिमा आएकी नेतृ हुन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७४, बुधबार ००:२६