२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

गठबन्धन भएको पालिकामै समाजवादीको रामधुलाई, उम्मेदवारले आफ्नो बाहेक मत पाउन सकेनन्


१ जेठ बागलुङ । नेपाली कांग्रेससँग गठबन्धन गरेका माधव नेपालको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष पदका उम्मेदवार तारानाथ शिर्पालीले तमानखोला गाउँपालिका भरीको मतगणना गर्दा जम्मा एक मत पाएका छन् । नेपाली कांगेस समेतको समर्थनमा उम्मेदवार बनेका उनलाई मतगणना सकिँदासम्म जम्मा एक मत मात्र प्राप्त भएको थियो । उपाध्यक्षमा उम्मेदवारी दिएका सिर्पालीको कलम चिन्हमा एक मत मात्रै प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तमानखोलाको अध्यक्षमा नेपाली कांग्रेसका जोकलाल बुढामगर र उपाध्यक्षमा हिराकुमारी छन्त्याल विजयी भएका छन् । जोकलाल बुढामगर दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । बुढाले २,७०७ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका देवबहादुर पुनले १,९९५ मत प्राप्त गरेका छन् । त्यसैगरी, उपाध्यक्षमा छन्त्यालले २,७६८ मत ल्याएर नेकपा माओवादी केन्द्रका निसु रसाईलीलाई पराजित गरेकी छन् ।

रसाइलीले १,९५८ मत प्राप्त गरेकी छिन् । जिल्लामा अन्य स्थानीय तहमा कांग्रेस माओवादीको गठबन्धन भए पनि त्यहाँ हुन सकेको थिएन । यस्तै पालिकाका पाँच वडामै गठबन्धनका उम्मेदवार विजयी भएका छन् । ताराखोला गाउँपालिका– १ मा यमबहादुर श्रीस, २ मा भद्र घर्ती, ३ मा कर्णबहादुर भण्डारी, ४ जितबहादुर खत्री र ५ नम्बर वडामा मनबहादुर खत्री विजयी भएका हुन् । गाउँपालिकामा वडासदस्यबाहेकको पदमा गठबन्धनको प्यानलै विजयी भएका हुन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार २०:२९

https://srdb.com.np/