६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

सवारी दुर्घटनामा २ जनाको मृत्यु


२८ वैंशाख, काठमाडौं । इलाम र सर्लाहीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । इलामको इलाम नगरपालिका–९ गोलाखर्क भञ्ज्याङस्थित सडकमा ना.४ ख ५६६९ नम्बरको ट्रकले मे.१ प ६२४४ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका–९ शेरा डेरा गरी बस्ने पाँचथर याङरुप गाउँपालिका–४ घर भएका ३५ वर्षीय धन बहादुर राई रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इलामतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । यस्तै, सर्लाहीको बसवरिया गाउँपालिका–४ स्थित सडकमा ना.३ त ३७१३ नम्बरको ट्रयाक्टर बुधबार दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रयाक्टरमा सवार सोही ठाउँ बस्ने शम्भु भण्डारीको छोरा १० वर्षीय राजु भण्डारी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हाल फरार ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार १८:४०