१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

रूकुम पूर्वमा माओवादीको ज्यादतीः एमाले कार्यकर्ताको अपहरण गरी हत्या

२८ वैशाख, वुटवल । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा माओवादी कार्यकर्ताले एमाले कार्यकर्ता डोटी बुढा जुनमायाको अपहरणपछि हत्या गरेका छन । वैशाख २३ गते सो गाउँपालिका– ११ टक्सेरामा माओवादी कार्यकर्ताले एमाले–कांग्रेस गठबन्धनका कार्यकर्तामाथि आक्रमण भएपछि झडप भएको थियो ।

सो झडपमा दुवै पक्षका आधा दर्जन घाइते भएका थिए । घरदैलोका क्रममा भएको भिडन्तपछि जुनमायालाई गायब बनाइएको थियो । अपहरणपछि खोजतलास गर्दा मंगलबार घरदेखि करिब ३ किलोमिटरमाथि शव भेटिएको थियो । शव भेटिएपछि स्थानीय पार्टी तथा प्रहरीको समन्वयमा जुनमायाको पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको छ । मृतकका भाइ धनबहादुर बुढा, नेपाली कांग्रेस पुथा उत्तरगंगा गाउँसभापति तपश बुढा, एक प्रहरी हवल्दारले एम्बुलेन्समा बुढाको शवलाई बुटवल ल्याएका हुन् ।

एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपानेले माओवादीले अपहरण गरी हत्या गरेका आफ्ना कार्यकर्ताको पोष्टमार्टम बुटवलमा भइरहेको जानकारी दिए । रुकुमपूर्व प्रहरीले सो घटनामा संलग्न रहेको आशंकमा माओवादीका स्थानीय तीन नेतालाई पक्राउ गरेको छ ।

सो गाउँपालिका कुमार सिंह, निवर्तमान वडाध्यक्ष जयकुमार बुढा, उनका भाई अर्जुनकुमार बुढा पक्राउ परेका हुन् । सो घटनाका प्रत्यक्षदर्शी नेपाली कांग्रेस पुथा उत्तरगंगा गाउँसभापति तपश बुढाले गठबन्धनमा रहेको कार्यक्रममा माओवादी कार्यकर्ताले आक्रमण गरेको र अपहरण गरी हत्या गरेर जघन्य अपराध गरेको बताए ।

उनले घटनाको वास्तविकताका लागि आफैले शव पोष्टमार्टम गर्न बुटवल ल्याएको बताए । मृतकका भाइ धनकुमार बुढाले आफ्नो दिदीको हत्या माओवादीकै कार्यकर्ताले गरेको भएपनि प्रहरीले छानविनका लागि वास्ता नगरेको भन्दै यथार्थ विवरण बाहिर ल्याउन आग्रह गरे ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार १०:३७