१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

स्वीडेनका हसलमार्कले जिते साहसिक हिमालयन एक्सट्राई ट्रायथलोन

२६ वैशाख, काठमाडौं । स्वीडेनका जोन हसलमार्कले पहिलो हिमालयन एक्सट्राइ ट्रायथलोनको उपाधि जितेका छन् । ३.८ किमी पौडी, १८० किमी साइक्लिङ र ४० किमी दौड हसलमार्कले समग्रमा १६ घण्टा ८ मिनेट १२ सेकेन्डमा पूरा गरेका हुन् ।

उनले फेवातालमा सम्पन्न ३.८ किमी पौडी सक्न ४८ मिनेट ६ सेकेण्ड लगाएका थिए भने १८० किमी साइक्लिङ सक्न ६ घन्टा १ मिनेट ३१ सेकेण्ड तथा ४० किमी दौड पुरा गर्न ९ घन्टा १२ मिनेट ४३ सेकेण्ड लगाएका थिए ।

त्यस्तै चेक गणतन्त्रका फिलिप सोल्क दोस्रो भए। उनले १६ घण्टा २९ मिनेट २६ सेकेन्डमा पूरा गरे । चेक गणतन्त्रकै पिटर भाब्रोसेकले १६ घण्टा ४० मिनेट ५७ सेकेन्डको समयमा दौड पूरा गर्दै तेस्रो स्थानमा आउन सफल भए ।

खेलाडीहरुले प्रतिस्पर्धामा लगाएको समय बाहेक उनीहरूले पौडीबाट साइक्लिङ र साइक्लिङबाट दौडिने स्थानमा पुग्ने समय पनि जोडिने गर्छ । उपाधि जिते पछि स्वीडेस हसलमार्कले भने, ‘यो प्रतियोगिता अन्य देशको भन्दा निकै कठिन र रोमाञ्चक थियो, यो प्रतियोगितामा सहभागिताले धेरै नयाँ कुरा सिक्ने र अनुभव गर्ने अवसर पाएँ ।’

बिहान ४ बजे पोखराको फेवातालबाट प्रतियोगिता शुरु भएको थियो। जहाँ खेलाडीहरुले ३.८ किमीको दूरी पौडेका थिए । त्यसपछि १८० किमीको साइकल दौड सुरु भएको थियो। साइकल रेस पोखरा भूपी शेरचन राजमार्ग हुँदै बागलुङको कालिका मन्दिर र त्यहाँबाट फर्केर पोखरा २५ हेम्जा मिलनचोक हुँदै कास्कीको माछापुच्छ्रे लुम्रेमा पुगेर टुंगिएको थियो ।

लुम्रेबाट ४० किमी उकाली ओराली दौड सुरु भएको थियो। दौड पर्यटकीय गन्तव्य मर्दी हिमाल हाइक्याम्पको ४ हजार मिटरलाई छुँदै फर्किएर कास्कीको माछापुच्छ्रे स्थित ल्वाङमा पुगेर अन्तिम दूरी पूरा गरेका थिए ।

यसै गरी नेपालबाट सहभागी सन्तोष राईले २० घन्टा ५८ मिनेट १० सेकेण्डमा पुरा गर्दै १० औं स्थानमा आएका छन् । रेसमा सहभागी नेपाली महिला खेलाडी सोनी गुरुङ केही मिनेट ढिला हुँदा मर्दी हिमालको ४ हजार मिटरको उचाइ छुन भने असफल भइन् ।

‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइयाथलन’ को साहसिक ट्रायथलोन अन्तर्गतको यो ‘हिमालयन एक्सट्राई,’ नेपालमा पहिलो पटक सुरु गरिएको हो। अत्यन्त साहसिक मानिने यो दौडमा प्रत्येक खेलाडीसँग सहयोगी समेत हुने गर्दछ ।

प्रतियोगिताका रेस डाइरेक्टर रिक्की योन्जनका अनुसार प्रतियोगितामा विश्वका १७ देशका प्रतिस्पर्धीहरूले भाग लिएका थिए। उनीहरूका ३० जना सहयोगी गरी ४७ जना पोखरा आएका थिए । उनीहरू प्रतियोगिताका लागि करिब एक साता पोखरा रहेर अभ्यास समेत गरेका थिए ।

विजेता र सहभागी खेलाडीहरूलाई गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज बहादुर गुरुङले पुरस्कार वितरण गर्नुभयो। सो अवसरमा उनले भने, ‘यो प्रतियोगिताले गण्डकी प्रदेशलाई चिनाउन सहयोग गरेको मात्रै छैन गण्डकी प्रदेश साहसिक खेलकुदको गन्तव्य हो भन्ने कुरालाई स्थापित गरेको छ ।’

प्रतियोगिताका रेस डाइरेक्टर रिक्की योन्जनले नेपालमा पहिलो पटक आयोजना भएको यो प्रतियोगिता निकै सफल रहेको बताए । दुई वर्ष अघि आयोजना हुने तय भएको प्रतियोगिता कोविद भाइरस महामारीका कारण स्थगित हुन पुगेको थियो । सन २००३ बाट क्यानाडाबाट सुरु भएको ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइयाथलन’ युरोप सहित अमेरिकाका गरी १७ विभिन्न देशमा हरेक वर्ष आयोजना हुने गर्दछ ।

प्रकाशित मिति : May 9, 2022 at 5:50 pm