१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

२० वैशाख, दाङ । तुलसीपुर उपमहानगरपालिका–१३ मा इनार खन्ने क्रममा भत्किएर पुरिएका एक युवाको शव आज फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका–१७ जमेराका २५ वर्षीय हरि चौधरीको शव तीन दिनपनि आज फेला परेको हो ।

गत शनिबार बिहान ११ बजे साजकुटीमा स्थानीय डिल्ली रोकाको घरमा इनार खन्ने क्रममा चौधरी माटोको ढिस्कोले पुरिएपछि स्काभेटर प्रयोग गरेर निजको शव निकालिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले जानकारी दिए । निजको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । करिब ४० फिट गहिरो कुवा खन्ने क्रममा चौधरी पुरिएका थिए ।

यसैगरि खोलाले बगाउँदा बबई गाउँपालिका–४ हस्नापुरकी १७ वर्षीया सन्ध्या परियारको मृत्यु भएको छ । सोमबारको भारी वर्षाका कारण स्थानीय हस्नापुर खोलामा बाढी आएका बेला सोही खोला तर्ने क्रममा बेलुका ५.३० बजे उनलाई बाढीले बगाएको थियो । घटनालगत्तै प्रहरी टोलीले बगेको स्थानबाट १५० मिटर दक्षिणबाट उनको उद्धार गरेको थियो । उनको अवस्था गम्भीर रहेकोले उपचारको लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पुुर्याएलगत्तै उनको मृत्यु भएको थियो ।

प्रकाशित मिति : May 3, 2022 at 3:02 pm