१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

स्थानीय तह चुनावको परिणमले गठबन्धनमा असर गर्दैन : आरजु राणा

१९ वैशाख, धनगढी । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले स्थानीय तहको निर्वाचबाट आउने परिणामले गठबन्धनमा कुनै असर नपर्ने बताएकि छन् ।

सोमबार धनगढीमा पत्रकारसँग कुरा गर्दै देउवाले अहिलेको गठबन्धन विशेष परिस्थितीमा देशको रक्षा गर्न र संविधान जोगाउन बनेको भन्दै स्थानीय तह निर्वाचनको परिणामले गठबन्धनलाई कुनै असर नगर्ने बताइन् । ‘चुनाव हारे पनि जीते पनि अहिलेको गठबन्धन निरन्तर चलिरहने छ,’ देउवाले भनिन्, ‘गठबन्धन टुटेमा देश फेरि संकटमा पर्ने निश्चित छ ।’

केन्द्रीय सदस्य देउवाले अहिलेको गठबन्धनका कारण संविधान जोगिएको भन्दै कुनै अप्ठ्यारो नमानि गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न मतदातालाई आग्रह गरिन् ।

‘ओलीले संविधानलाईनै समाप्त पर्न खोजेका बेला त्यसलाई जोगाउन यो गठबन्धन बनेको हो,’ उनले भनिन्, ‘यसलाई सवै कार्यकर्ताले बुझ्नु पर्छ, धेरैले कुरा नबुझेका कारण समस्या भएको देखिन्छ ।’

देउवाले धनगढी उपमहानगरपालिमा गठबनधनका साझा उम्मेदवारलाई जीताउन समेत आग्रह गरिन् । नृपबहादुर वड ५ दलबाट साझा उम्मेदवारका रुपमा धनगढीको मेयरमा उम्मेदवार रहेको भन्दै उनले वडलाई जीताएर धनगढीको भविश्य शुनिश्चित गर्न आग्रह गरिन् । यस अघि वड धनगढीको मेयर हुँदा राम्रो काम गरेको भन्दै उनले फेरी पनि वडलाई नै मेयरमा जीताएर महानगरपालिकाको भविष्य कोर्न आग्रह गरिन् ।

प्रकाशित मिति : May 2, 2022 at 9:28 pm