१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

१७ वैशाख, सुदूरपश्चिम । कैलालीमा माछा मार्ने क्रममा दुई जनाको मृत्यु भएको छ । माछा मार्न कर्णाली नदी किनारमा पुगेर एक्कासी बेहोस भएका टीकापुर नगरपालिका–१ शिवनगरका ५९ वर्षीय शोभराम थारुको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले बताउनुभयो ।

यसैगरी जिल्लाको घोडाघोडी नगरपालिका–४, रामशिखरझालाका २२ वर्षीय नरेश बुढाको नजिकैको बेत्नी खोलामा बिजुलीद्वारा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । करेन्टबाट घाइते भएका बुढाको उपचारका क्रममा सुख्खड अस्पतालमा गएराति मृत्यु भएको हो ।

मृतक बुढासँगै माछा मार्न सोही खोलामा गएका कैलाश ठगुन्ना, अनिल चौधरी र ललित बुढालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जोशीले बताउनुभयो । जिल्लाको गोदावरी नगरपालिका–४ बन्देगडा गाउँका ४० वर्षीय वीरबहादुर रोकामगरलाई प्रहरीले नजिकैको राजीताल सामुदायिक वनको गैराखोलामा शुक्रबार मृत अवस्थामा फेलापारेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : April 30, 2022 at 1:10 pm