१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

प्रवासी नेपाली मञ्च(ओएनएफ) ले ल्यायो म्युजिक भिडियो सहितको चुनावी गीत (भिडियो)

१५ वैशाख, अष्ट्रेलिया । प्रवासी नेपाली मञ्चले नेपालमा आसन्न तीनै तहका निर्वाचनमा नेकपा(एमाले)का उम्मेदवारहरुको प्रचार प्रसार गर्न “समृद्ध नेपाल, सुखी नेपाली” बोलको एउटा नयाँ चुनावी गीत(म्युजिक भिडियोसहित) सार्वजनिक गरेको छ ।

उक्त गीतको म्युजिक भिडियो पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी, नेकपा (एमाले)का अध्यक्ष के.पी. शर्मा ओलीले काठमाडौंको जमलमा आयोजित एक समारोहका बीच बिहीबार लोकार्पण गरेका छन ।

गीतकार कुलबहादुर(के. बी.) चलाउने, सङ्गीतकार खड्ग न्यौपाने र कुमार थापाको कुशल सङ्गीत संयोजन रहेको सो चुनावी गीतमा जनवादी गायिका र गायकहरु आकाश थापा, खड्ग न्यौपाने, साजन राई, दुर्गा परियार, दीपा तामाङ, गङ्गा राई समेतको स्वरमा रहेको छ ।

मञ्चका अन्तराष्ट्रिय कमिटीका सचिव रमेश पाण्डेका अनुसार गीतले लोकगीत र आधुनिक गीत दुवै नभई लोकाधुनिक सङ्गीतले दुवै क्षेत्रलाई समेट्न सकेको छ । पाण्डेले निर्वाचनको प्रचार प्रसारका लाई मञ्चको कला साहित्य तथा सांस्कृतिक विभागको सक्रियतामा म्युजिक भिडियो सहितको गित निर्माण गरिएको बताए ।

गितको भिडियोमा माननीयहरु कमरेड शान्ता चौधरी, नवराज सिलवाल र कोमल वली, चलचित्र अभिनेता तथा डाइरेक्टर लय संग्रौला, कलाकार उत्तम केसी, सुवेक्षा मेन्याङ्बो, प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्यद्वय डा. बिमला भण्डारी र भक्त गुरुङ लगायत विभिन्न कलाकारहरुको अभिनय रहेको छ । चलचित्र नृत्य निर्देशक कमल राईको नृत्य निर्देशन रहेको छ भने राष्ट्रिय जनसाँस्कृतिक महासङ्घ, नेपाल का नेता राजेश थापाको निर्देशन रहेको छ ।

उच्च स्तरीय (Red Camera) प्रविधिबाट म्युजिक भिडियो निर्माण गरी तयार पारिएको सो चुनावी गीतको अडियो भने यस अघि पूर्व उप-प्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा विशेष समारोहकाबीच लोकर्पण गरेका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार १७:३९