विवेकशील साझाबाट टोखा नगरपालिकाको मेयरमा नुवाकोटका लक्ष्मण सिटौला
६ वैशाख, काठमाडाैँ । विवेकशील साझा पार्टीले टोखा नगरपालिकाको प्रमुखका लागि पार्टीका केन्द्रीय सदस्य लक्ष्मणराज सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। एम.ए., एल.एल.बी. अध्ययन पुरा गरेका सिटौलाले नेपाल वायुसेवा निगममा ३३ वर्ष प्रशासनिक कार्य गरी उपसचिव स्तरबाट दुईवर्ष अघि राजीनामा दिएका थिए।
२०२३ सालमा नुवाकोटको शिवपुरी गाउँपालिकामा जन्मिई २०४२ सालदेखि टोखा नगरपालिका वडा नं ११ मा स्थायी वसोवास गर्दै आएका सिटौला हाल स्वतन्त्र लेखन, अनुसन्धान, पत्रकारिता, आन्तरिक पर्यटन प्रवर्द्धनमा सकृय हुनुका साथै कृषि पेशासँग पनि आवद्ध छन् ।
सरकारी सेवा प्रवेश गर्नुअघि राजनीतिक तथा सामाजिक अभियानमा सक्रिय सिटौलाको पहलमा उक्त वडामा खानेपानी आयोजना सुरु भएको थियो। सोही समयमा सिटौला लगायतको सक्रियतामा गोङ्गबु समाज सुधार युवा क्लबमार्फत सामाजिक कार्य सुरु भएको थियो।

सिटौलाका २३ वटा साहित्यिक कृति प्रकाशित छन् भने दुइवटा चलचित्र निर्माण भएका छन्। विभिन्न पत्रपत्रिकामार्फत सिटौलाका करिब १ हजार ४ सयभन्दा बढी लेखरचना प्रकाशित भइसकेका छन्। सिटौलाको लामो प्रशासनिक दक्षता, सिर्जनात्मक क्षमता एवं राजनीतिक, सामाजिक र आर्थिक सुझबुझलाई राष्ट्रहितमा थप उपयोगबाट वैकल्पिक राजनीतिलाई स्थापित गर्न थप बल पुग्ने विश्वासका साथ विवेकशील साझा पार्टीले उनलाई टोखा नगरपालिकामा मेयरको उम्मेदवारका रुपमा अघि सारेको हो। सिटौलाले विवेकशील साझा पार्टीको बाहेक नै गोंगबु क्षेत्रका नेपाली कांग्रेस र माओवादी कार्यकर्ताको करिब ३ हजार मत काट्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति : April 19, 2022 at 11:53 am









