६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

दैलेखका समाजवादीका जिल्ला सचिव मानबहादुर खड्का एमालेमै फर्किए


२ वैशाख, दैलेख । नेकपा एकीकृत समाजवादीका जिल्ला पार्टी सचिव मानबहादुर खड्का नेकपा एमालेमै फर्किएका छन् । उनीसँगै सयौँ नेता तथा कार्यकर्ताहरू पुनः नेकपा एमालेमा फर्किएका हुन् ।

शुक्रवार नेकपा एमाले दैलेखका पार्टी अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य रबिन्द्रराज शर्मा, प्रदेश सांसद धर्मराज रेग्मी भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा, भगवती माईका नेता नन्द बस्नेत, शान्ति शर्मा, उपाध्यक्ष चन्द्रा रेग्मी लगायतका नेताहरूले उनलाई नेकपा एमाले दैलेख पार्टीमा स्वागत कार्यक्रम गरेका छन् । एकीकृत समाजवादीका पार्टी सचिव नै एमालेमा फर्किएपछि नेकपा एस रित्तिने अवस्थामा पुगेको छ ।

२०४६ सालदेखि नेकपा एमालेको विभिन्न जिम्मेवारीमा रहँदै आएको र २०५४ सालमा नेकपा एमालेको तर्फबाट कट्टी गाविसको उपाध्यक्ष पदमा निर्वाचित रही काम गर्दै आएको र बिचमा केही समय राजनीतिक असमझदारीका कारण फरक विचार राखे पनि देशर जनताको रक्षाका लागि एमाले नै देशको मूल पार्टी भएकोले आफ्नै घरमा फर्किएको मानबहादुर खड्काले प्रतिक्रिया दिएका छन्।

एकीकृत समाजवादी पार्टीको सबै जिम्मेवारी आजैका दिनदेखि छोडेर नेकपा एमालेको झन्डामुनि गोलबन्द हुने निर्णय गर्दै आम सबै कार्यकर्ताहरूलाई एमालेमै फर्किन विज्ञप्तिमार्फत खड्काले आग्रह गरेका छन् ।

नेकपा एमाले दैलेखका पार्टी अध्यक्ष रबिन्द्रराज शर्माले नेकपा एमालेले दैलेखका ११ वटै पालिकामा आफ्नो विजय सुनिश्चित हुने गरी काम गरिरहेको बताउँदै अझै धेरै नेता तथा कार्यकर्ता आफ्नो पार्टीमा आउने तयारी गरेको बताएका छन् । केही दिन भित्र नेकपा माओवादी र काँग्रेसका प्रभावशाली नेताहरू नेकपा एमालेमा प्रवेशको तयारी भएको र सोही अनुसार नेताहरूलाई जिम्मेवारी प्रदान गर्ने गरी आन्तरिक तयारी रहेको पनि जानकारी दिएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार १८:०७