१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

प्रतिष्ठानका ३सय ५६ जनाको स्वास्थ्य बिमा

३० चैत, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारीको स्वास्थ्य बिमा गरेको छ । प्रतिष्ठानले ३ सय ५६ जनाको एकमुष्ट स्वास्थ्य बिमा गरेको हो । प्रतिष्ठानमा अध्ययनरत १ सय २९ जना विद्यार्थीको समेत स्वास्थ्य बिमा गरिएको छ ।

गुणस्तरीय स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा तथा खोजमूलक अनुसन्धान गर्ने उद्देश्यले स्थापित प्रतिष्ठानले नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड अन्तर्गत सम्पूर्ण स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी तथा विद्यार्थीको बिमा अनिवार्य गरेको बताएको छ ।

त्यस्तै प्रतिष्ठानका कार्यालय सहयोगी ३१ जना, सिएमए, एनएम, एचए १६ जना, स्टाफ नर्स ६१ जना, प्रशासनिक कर्मचारी १९ जना, नर्सिङ अधिकृत सात जना, ल्याब, एक्सरे, फार्मेसी कर्मचारी २१ जना, मेडिकल अधिकृत १७ जना, आवासीय चिकित्सक पाँच जना र शिक्षक ५० जना गरी २ सय २७ जनाको स्वास्थ्य बिमा गरिएको हो ।

यस्तै विद्यार्थीतर्फ एमबिबिएस अध्ययनरत विद्यार्थी १५ जना, बि फार्मा ८ जना, बिएनएस ११ जना, बिएमएस द्वितीय वर्षका चार जना, बिएमएस प्रथम वर्षका विद्यार्थी २ जना, विपिएच तृतीय वर्षका १२ जना, विपिएच द्वितीय वर्षका १२ जना, विपिएच प्रथम वर्षका ६ जना, पिसिएल नर्सिङका ३६ जना र एचएका विद्यार्थी २३ जना गरी १२९ जनाको बिमा गरेको हो ।

आम नागरिकको स्वास्थ्य सेवा सहज, पहुँच र सुनिश्चित गर्न स्वास्थ्य बिमा ऐन २०७४ तथा नियमावली २०७५ को कार्यान्वयनका क्रममा प्रतिष्ठानले शिक्षक, स्वास्थ्यकर्मी, कर्मचारी र विद्यार्थीको एकमुष्ट बिमा गरेको अस्पताल निर्देशक डाक्टर पुजन रोकायाले बताए ।

जुम्लाका ८ वटा स्थानीय तहमध्ये गुठीचौर र तातोपानी गाउँपालिकाले विपन्न नागरिकको पहिचान गरी निःशुल्क स्वास्थ्य बिमा गरेको पाइएको छ । स्थानीय तहले विपन्नको सिफारिस पठाउनु भन्दा पनि उनीहरूकै नाममा स्वास्थ्य बिमा गर्न उपयुक्त हुने उनको भनाई छ ।

जुम्लाको एक लाख १९ हजार ३७७ जनसंख्या मध्ये ५७ हजार १३ जनाको मात्रै स्वास्थ्य बिमा भएको स्वास्थ्य बिमा बोर्ड जुम्लाका प्रमुख प्रेम भण्डारीले बताए । उनले भने ३ हजार ५६९ जना विपन्न नागरिक, २ हजार २८१ जना जेष्ठनागरिक, एचआइभी संक्रमति १ जना, क्षयरोगी २ जना, (क) वर्गका अपांगता भएका व्यक्ति ४७ जनाको नि:शुल्क स्वास्थ्य बिमा भएको छ ।

जुम्लासहित हिमाली दुर्गम जिल्लामा ६० वर्षमाथिका लागि जेष्ठनागरिकको रूपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रावधान छ । तर स्वास्थ्य बिमा भने ७० वर्षमाथिका व्यक्तिलाई मात्रै जेष्ठनागरिक मानेको छ । यसले सरकारी दुई वटामा सेवा प्रवाहमा निकै विरोधाभास देखिएको छ ।

त्यस्तै ६० वर्षमाथिका नागरिकलाई नै जेष्ठनागरिकको आधारमा स्वास्थ्य बिमा गर्नुपर्ने नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए । उनले भने,‘स्वास्थ्य बिमा ऐन नियमावली परिवर्तन गरेरै भए पनि ६० वर्षमाथिका नागरिकलाई जेष्ठनागरिकको मान्यता दिनु पर्ने आवश्यक छ ।

प्रकाशित मिति : April 13, 2022 at 5:29 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/