१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

बिस्केट जात्रा सुरु, पहिलो दिनमै ढुङ्गा हानाहान, २० जना घाइते (भिडियोसहित)

२७ चैत, काठमाडाैँ । नयाँ वर्षको आगमनसंँगै सुरु भएको तान्त्रिक विधिबाट मनाइने भक्तपुरको प्रसिद्घ ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केट जात्रा आजदेखि सुरु भएको छ ।

नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँच दिनसम्म सञ्चालन हुने बिस्केट जात्राको आज पहिलो दिनमै ढुङ्गा हानाहान भएको छ । ढुंगा हानाहानमा २० जना घाइते भएका छन । उनीहरूको भक्तपुर अस्पतालमा उपचार भैरहेको छ । भक्तपुरका बासिन्दाले आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने गरेको बिस्केट जात्राको पहिलो दिन आज भैरव र भद्रकालीको पूजा गरेपछि आज साँझबाट भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु भएको हो ।

आज साँझ तौमढी (पाँचतले मन्दिर) अगाडिबाट भैरवको रथ तान्न सुरु भएको थियो । तौमढीबाट माथि र तलका बासिन्दाबीच रथ तानातान गर्ने क्रममा रथ गहिँटी पुगेर घरमा ठोक्किएर रोकिएपछि तल्लो र माथिल्लो दुवै तर्फबाट ढुङ्गा हानाहान भएको हो । स्थानीय रामकृष्ण श्रेष्ठले गहिँटीमा पुगेर रथ घरमा ठोक्किएको केही बेरमै ढङ्गा हानाहान भएको तर प्रहरीले हस्तक्षेप भने नगरेको जानकारी बताए ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले रथ तान्ने क्रममा गहिँटी पुगेर घरमा ठोक्किएपछि ढुङ्गा हानाहान भएको जानकारी दिए । स्थिति सामान्य हुँदै गएको बताउँदै उनले २० जना घाइते भएको बताए ।  स्थानीय बासिन्दाले भने ढुङ्गा हानाहान जारी रहेको जानकारी दिएका छन् ।

प्रहरीले जात्रामा शान्ति सुरक्षाका लागि भन्दै उपत्यकाका तीनवटै जिल्लाका नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी एक हजार ४५० सुरक्षाकर्मी परिचालन गरेको छ । प्रहरीले जात्रामा हस्तक्षेप गर्दा जात्रा हिंसामा परिणत हुन सक्ने भएपछि प्रहरीले जात्रामा हस्तक्षेप भने नगरेको जनाएको छ ।

परापूर्वकालदेखि चलिआएको विश्वप्रसिद्ध बिस्केट जात्रा बिस्केट अर्थात् ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा मनाइने यो जात्रामा तान्त्रिक विधि अनुरूप निर्माण गरिएको भैरवको रथ तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्रले लैजान सके क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी, दत्तात्रयसम्म पु¥याइ फर्काउने प्रचलन छ । रथलाई तल्लो क्षेत्रमा गःहिटी पु¥याएपछि आज पहिलो दिनको रथयात्रा विसर्जन गर्ने परम्परा छ ।

प्रकाशित मिति : April 10, 2022 at 10:12 pm