४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

तेस्रो किस्ताको सरकार विस्तार राष्ट्रपति निर्वाचनपछि, गृह राज्यमन्त्रीमा सिलवाल


२२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो किस्ताको सरकार विस्तार राष्ट्रपति निर्वाचनपछिमात्रै गर्ने भएका छन । मन्त्रिपरिषद्मा रहरलाग्दा अनुहार समेट्ने कोशिशमा रहेका ओलीले केही समय लिएर सरकार विस्तार गर्ने तयारी गरेका हुन ।

मन्त्रिपरिषद् विस्तारका लागि गहन छलफलमा रहेका ओलीले मन्त्री बनाउने तयारीमा रहेका नेताहरुसँग व्यक्तिगत रुपमा समेत छलफल गरिरहेका छन ।

ओलीले मन्त्रिपरिषद् विस्तारका लागि आन्तरिक र बाहृय छलफल जारी राखेका छन । प्रधानमन्त्रीले मन्त्रिपरिषदमा संघीय समाजवादी फोरम र राजपालाई पनि सामेल गर्न छलफल चलाइरहेका कारण पनि केही ढिलाई हुने देखिएको छ ।

प्रधानमन्त्रीसहित १८ मन्त्रालयमध्ये एमालेले १० र माओवादीले ७ बाँड्ने सहमति भएको थियो । तर फोरम र राजपा सरकारमा आउँदा एमाले र माओवादीले पाउने मन्त्रालयको संख्या घट्ने निश्चित भएको छ ।

यसैबीच नयव प्रहरी महानिरीक्षक पदबाट राजिनामा दिएर एमालेको राजनीतिमा क्रियाशील भएका ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका नवराज सिलवाललाई गृहराज्यमन्त्री बनाउने तयारी ओलीले गरेका छन ।

गृहमन्त्रालय माओवादीको भागमा परेकोले सिलवाल राज्यमन्त्री नहुने भन्ने एमालेकै केही नेताले बताए पनि दुबै पार्टी एक भैसकेको सन्देश संसदभित्रबाट गएकाले सिलवाल गृहराज्यमन्त्री बन्न केहीले पनि नछेक्ने ओली निकटका एक नेताले बताए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७४, मंगलवार १०:०७