३ असार २०८१, सोमबार | Mon Jun 17 2024

रुपन्देहीमा ३८ दल चुनावी प्रतिस्पर्धामा


२२ चैत, वुटवल । बुटवल, २२ चैत वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाएका ६ दलसहित ३८ दल रूपन्देहीबाट चुनावी प्रतिस्पर्धामा देखिएका छन् । जिल्लामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी राष्ट्रिय दलको मान्यता प्राप्त दलको रुपमा सक्रिय रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार राष्ट्रिय दलको मान्यता नपाएका जनमत पार्टी, मंगोल नेशनल अर्गानाइजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशिल पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल सद्भावना पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपाल विवेकशिुील पार्टी, सचेत पार्टीले पनि निर्वाचनमा भाग लिनका लागि दल दर्ता गराएका छन् ।

यस्तै समाजवादी केन्द्र नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी), नेपाल जनता पार्टी, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी), उन्नत लोकतन्त्र पार्टी, नेपाल दलित पार्टी, बहुजन पार्टी, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल), नेपाल सुशासन पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थारुहट), विवेकशील साझा पार्टी, नेपालका लागि नेपाली पार्टी, नेपाली कांग्रेस (वीपी), सामाजवादी एकता पार्टी, जनसमाजवादी पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन गरी ३२ वटा दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।

अघिल्लोे निर्वाचनको तुलनामा रुपन्देहीमा एक लाख नौ हजार ७५८ मतदाता बढेका छन् । २०७४ सालको निर्वाचनमा पाँच लाख २२ हजार ६०२ मतदाता रहेकोमा अहिले बढेर एक लाख नौ हजार ७५८ जना मतदाता बढेर ६ लाख ३२ हजार ३६० पुगेका छन् । मतदाता मध्ये तीन लाख २३ हजार ७७८ जना पुरुष र तीन लाख आठ हजार ५७४ जना महिला रहेका छन् ।

बुटवल उपमहानगरपालिकामा २०७४ सालको निर्वाचनमा भन्दा १३ हजार ३४५ मतदाता बढेका छन् । बुटवल उपमहानगरपालिकामा ९० हजार ६५ जना मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका निर्वाचन व्यवस्थापनका फाँट प्रमुख बिनोद भट्टराईका अनुसार अघिल्लो निर्वाचनमा बुटवल उपहानगरपालिकामा ७६ हजार ७२० जना मतदाता रहेका थिए ।

यस्तै जिल्लामा रहेका पाँच नगरपालिका मध्ये सबैभन्दा धेरै तिलोत्तमा नगरपालिकामा ८५ हजार ७४७ र सबै भन्दा कम लुम्बिनी सांस्कृतिक नगरपालिकामा ४३ हजार ८९० जना मतदाता रहेका छन् । २०७४ सालमा तिलोत्तमामा ७१ हजार ७४ र लुम्बिनी सांस्कृतिक नगरपालिकामा ३६ हजार ११५ जना मतदाता रहेका थिए ।

जिल्लामा रहेका १० गाउँपालिकाहरु मध्ये सबै भन्दा धेरै गैडहवा गाउँपालिकामा ३० हजार ३५१ जना मतदाता र कम मर्चवारी गाउँपालिकामा २२ हजार ७४७ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । पहिलेको निर्वाचनमा गैडहवा गाउँपालिकामा २४ हजार ९२० र मर्चवारी गाउँपालिकामा १८ हजार ८१७ जना मतदाता रहेका थिए ।

९० मतदान केन्द्र थपिए
अघिल्लो पटकको निर्वाचनको तुलनामा रुपन्देहीमा अहिले ९० वटा मतदान केन्द्र थपिएका छन् । २०७४ सालको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा जिल्लामा २०८ वटा मतदान स्थल र ६१० मतदान केन्द्र रहेका थिए । अहिले मतदान केन्द्र बढेर ७०० पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मतदान स्थल भने बढेका छैनन् । एक हजार मतदाताको लागि एक मतदान केन्द्र बनाउने योजना अनुरूप मतदान केन्द्र बढेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले बताए । निर्वाचन आयोगले रुपन्देहीको मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश धनसिंह महरा र १६ वटै स्थानीय तहको मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलवार ०७:३८