१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

मान्छे मार्ने सवारी चालक धरौटीमा छुट्नै नसक्ने नयाँ कानुन, तीनदेखि दश वर्षसम्म कैद हुने

२९ साउन, काठमाडौँ । मान्छे मारेर धरौटीमा छुट्दै आएका सवारी चालक समस्यामा पर्ने भएका छन । आगामी भदौ १ गतेदेखि लागू हुन लागेको मुलुकी संहितामा मान्छे मार्ने सवारी चालकलाई यसअघि दिइएको धरौटीमा छुट्ने छुटलाई प्रतिबन्ध लगाइएको छ । यो व्यवस्थासँगै लापरवाही रुपमा सवारी चलाएर दुर्घटना भई यात्रु वा अन्य व्यक्तिको ज्यान गए पनि कानुनी व्यवस्थाको फाइदा उठाएर धरौटीमा छुट्दै आएका सवारी चालकले अव उन्मुक्ति नपाउने भएका छन् ।

मुलुकी ऐन अदालती बन्दोबस्तीको ११८ नम्बर अनुसार २ वर्षसम्म मात्र कैद सजाय हुने अपराध भएमा धरौटी राखी रिहा हुन सकिने कानुनी व्यवस्थाको फाइदा लिदै धेरै चालक उम्कदै आएका थिए । तर नयाँ मुलुकी संहिताले सवारी दुर्घटनाको अपराधलाई गम्भीर रुपमा लिँदै धरौटीमा छुट्न बन्देज लगाउने व्यवस्था राखेको छ ।

कसैले लापरबाही गरी सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागि वा कुनै किसिमको सवारी दुर्घटना भई सवारीमा रहेको तथा बाहिर जुन सुकै स्थानमा बसेको भए पनि एकासी दिनभित्र मृत्यु भएमा सवारी चलाउने व्यक्तिलाई तीन वर्षदेखि दश वर्षसम्म कैद र तीस हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था संहिताले गरेको छ ।

प्रकाशित मिति : 16:45