४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

१० तलाको भ्यू टावर उद्घाटन गरेर ओलीले टेलिस्कोपबाट के हेरे ?


१५ चैत, वुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ शंकरनगरस्थित बनबाटिकामा निर्माण गरिएको भ्यू टावरको उद्घाटन गरिएको छ। २०७४ साल चैत्र १५ गते शिलान्यास गरिएको उक्त भ्यू टावर ४ वर्षमा निर्माण सम्पन्न गरि मंगलबार उद्घाटन गरिएको हो। भ्यूटावरको नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्। उनले टावरको उद्घाटन गरेपछि टेलिस्कोपबाट आसपासको दृश्वावलोकन गरेका छन ।

शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा १ सय ३४ फिट उचाईमा रहेको भ्यू टावर १० तलाको रहेको छ। तिलोत्तमा नगरपालिकाले यो भ्यूटावर, भ्यूटावर मात्र नभई बहुउद्देश्यीय भवनको रुपमा निर्माण गरिएको दावी गरेको छ।

तिलोत्तमा नगरपालिका र शंकरनगर बन विहारको संयुक्त लगानीमा निर्माण गरिएको भ्यूटावरमा पहिलो देखि छैठौ तलासम्म व्यवसायिक प्रयोजनका लागि संरचना निर्माण गरिएका छन् भने सातौं तलादेखि मात्रै दृश्यअवलोकनको लागि प्रयोग हुने नगरपालिकाले जनाएको छ। साढे ११ करोड बढी लागतमा निर्माण गरिएको भ्यूटावर निर्माणमा ७० प्रतिशत तिलोत्तमा नगरपालिकाले र ३० प्रतिशत शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रले लगानी व्यहोरेको छ।

कुल २५ हजार १२२ बर्ग फिट क्षेत्रफलमा निर्माण गरिएको भ्यू टावरमा सुविधायुक्त रेष्टुराँ र पर्यटक विश्राम स्थल, रिसर्च रुम, डिपार्टमेन्टल स्टोर, कार्यालय कक्ष, शौचालय सहित बातानुकूलित कोठा, लाइब्रेरी लगायतका संरचनाहरु बनाइएको नगरप्रमुख बासुदेव घिमिरेले जानकारी दिए।

भ्यू टावरबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म आँखाले सजिलै देख्न सकिने छ भने दुरविनको प्रयोगबाट भारतको गोरखपुर, नौतनवासम्मका सहरहरु देख्न सकिनेछ। नगरप्रमुख घिमिरेले ‘तिलोत्तमा भ्यू टावर’ नगरपालिकाको गौरव र गहना भएको भन्दै यसले थप पर्यटकलाई आकर्षित गर्ने बताए। उनले अन्य भ्यू टावर जस्तो नभई सुविधा सम्पन्न स्तरको भ्यू टावर रहेकाले यसको प्रयोग गर्दै पर्यटकको आगमनमा समेत बृद्धि हुने बताए।

कुल ११ करोड ५४ लाख ८१ हजार रुपैयाँको लागतमा निर्माण भएको भ्यू टावर प्राकृतिक निर्माण सेवाले ठिक चारवर्षमा पुरा गरेको हो। लिफ्ट सुविधा सहित बनेको भ्यू टावरसँगै २ विगाहा क्षेत्रफलमा अन्य पर्यटकीय पूर्वाधार र संरचनाहरु समेत निर्माण भईरहेका छन्।

शंकरनगर सामुदायिक वनभित्र २०६२ सालमा स्थापना गरिएको वन विहार तथा अनुसन्धान केन्द्र हाल पश्चिमाञ्चल क्षेत्रकै मुख्य अनुसन्धान केन्द्रका रुपमा विकास हुँदै गएकोले भ्यूटावरको निर्माणले उक्त केन्द्रको विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।

भ्यू टावरको उत्तरतर्फ स्वीमिङ पुल र अगाडि म्युजिकल फाउन्टेन निर्माण भइरहेको छ। त्यस्तै त्यहाँ चाईल्ड पार्क र स्टेडियम निर्माणको काम पनि सुरु भइसकेको छ। उपाध्यक्ष पाण्डेका अनुसार बाँकी निर्माणको कामको लागि केएच प्रशान्त जेभीसँग साढे ४ करोडको ठेक्का सम्झौता भईसकेको छ। अबको २ वर्षमा बाँकी संरचनाको निर्माण सम्पन्न हुने र त्यसपछि बनबाटिका यसक्षेत्रकै प्रमुख पर्यटकिय स्थल बन्ने पाण्डेले दावी गरे।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलवार ११:२४