४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

कांग्रेसको चुनावी रमिता ! नगरपालिकाको प्रशासकीय भवन नबन्दै मेयरबाट उद्घाटन


२५ चैत, अर्घाखाँची । स्थानीय तहको निर्वाचन नजिकिदैँ जाँदा अनेक घटनाक्रमहरू देखिइरहेका छन । त्यस्तैक्रममा अर्घाखाँचीको शितगंगा नगरपालिकामा निर्माण नै नभएको प्रशासकीय भवनको उद्घाटन गरिएको छ । एउटा कोठा पनि तयार नभएको भवनको नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीले उद्घाटन गरे । नेपाली कांग्रेसका नेता समेत रहेका उनले चुनावमा मत माग्ने एउटा आधार बनाउनका लागि भए पनि निर्माणाधिन भवन उद्घाटन गरेका हुन ।

स्थानीय र सञ्चारकर्मी कसैले पनि थाहा नपाएको उद्घाटन कार्यक्रममा उनले आफूले भ्रष्टाचार नगरेको भन्दै स्पष्टिकरण दिएका छन । उनले आफू पैसा कमाउनका लागि मात्र आफू मेयर नबनेको भन्दै भष्टाचार नगरेको दाबी गरे । पटक पटक उनले आफूले भ्रष्टाचार गरेको छैन भन्ने दाबी प्रस्तुत गरे ।

मेयर अधिकारीले पार्टीकै दबाबमा आफूले निर्माण सम्पन्न नभएको भवनको उद्घाटन गरेको बताएका छन । एमालेको बलियो संगठन रहेको शितगंगामा नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर कांग्रेसले चुनाव जितेको थियो । फेरि चुनाव हुन डेढ महिनामात्र बाँकी रहेको अवस्थामा उनले भवनको उद्घाटन गरेका हुन । जिल्लाका कुनै पनि सञ्चारकर्मीले भवन उद्घाटनका बारेमा जानकारी नै पाएनन् ।

शितगंगाको उमेयर पनि गठबन्धनकै टिका रेश्मी रहेका छन । उनी माओवादी केन्द्रका नेता हुन ।

 

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलवार ०९:१२