६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

माधव नेपालको पार्टीको प्रचारमा ‘छुचुन्द्रो’ छिरेपछि…!


१४ चैत, काठमाडौँ । माधव नेपालको पार्टी एकीकृत समाजवादीको प्रचार विभागमा ‘छुचुन्द्रो’ छिरेपछि केही नेताहरु लाजले मुख छोप्दै बैठकबाट भागेका छन् । ०७४ सालको प्रदेशसभा निर्वाचनमा एमालेको विरुद्ध बागी उम्मेदवार भएपछि साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएका प्रकाश खतिवडालाई प्रचार विभागको सचिव बनाइएपछि विभागको सदस्य भएका नेताहरु बैठकबाट भागेका हुन् ।

जहाँ गयो, त्यहीँ प्वाल पार्ने व्यक्तिका रुपमा ख्याति कमाएका खतिवडा सप्तरी जिल्लाका बासिन्दा हुन् । उनी २०६९ सालमा विराटनगरमा सम्पन्न प्रेस चौतारीको सातौं राष्ट्रिय सम्मेलनका प्रतिनिधिहरुलाई बरमझियाको बासी पेडा खुवाएर पखाला चलाएको भन्दै जोककाे पात्र बनेका व्यक्ति समेत हुन । सोही समयमा उनी प्रेस चाैतारीको उपाध्यक्षमा पराजित भएका थिए ।

त्यसपछि जिल्लाको राजनीति गर्न भनी सप्तरी केन्द्रीत भएका उनले प्रदेशसभा १ (क) बाट पार्टीविरुद्ध उम्मेदवारी दिएका थिए । एमालेले मुख्यमन्त्री बनाउनका लागि प्रदेश इञ्चार्ज सत्यनारायण मण्डललाई उम्मेदवार बनाएको थियो । उनलाई हराउनका लागि खतिवडा बागी बनेका थिए । तर, जम्मा १ सय ५१ मत पाएर खतिवडाले हारे भने मण्डलले ११ हजार ३ सय २ मत ल्याएर जिते ।

निर्वाचनकै समयमा खतिवडासहित उनको प्रस्तावक बनेका कञ्चनरुप नगरपालिका– १२ निवासी अनिल पोखरेललाई समेत जिल्ला पार्टी कमिटीले पार्टी हित र प्रतिष्ठामा आँच पु¥याउने तथा पार्टीका विरुद्ध शत्रुतापूर्ण गतिविधि गरेको ठहर गर्दै विधानको धारा ५ को घ तथा धारा ४९ बमोजिम पार्टीको सदस्यता समाप्त हुने गरी कारवाही गरेको थियो । पोखरेल अहिले समाजवादी पत्रकारको जिल्ला अध्यक्ष छन् ।

उनी सदस्य रहेको प्रेस चौतारी नेपालको केन्द्रीय सचिवालय बैठकले समेत उनलाई संगठनको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो । कारवाही गरिएको माइन्युटमा सही गर्ने नेताहरु पनि उक्त बैठकमा थिए । यस्ता व्यक्तिलाई माधव नेपालको पार्टीको प्रचार विभागको सचिव बनाइएपछि पार्टीभित्रै विवाद उत्पन्न भएको छ । विभागका प्रमुख जगन्नाथ खतिवडाले उनलाई सोमबारको बैठकमा सचिवमा प्रस्ताव गरेपछि विभागका सदस्य तथा समाजवादी पत्रकारका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीसहित शितल साह, रोहित दाहाल, राघव साह, बृजलाल पासवान, नरेन्द्र साउद, रामकुमार एलनहरु लाजले बैठकबाट निस्किएका थिए ।

खतिवडालाई प्रेस चौतारीको साधारण सदस्य नरहने गरी भएको कारवाहीको निर्णयमा आफूहरुले समेत हस्ताक्षर गरेको र उक्त कारवाही हालसम्म फुकुवा नभएको भन्दै नरेन्द्र साउदले आपत्ति जनाए । त्यसपछि उनी मुख छोप्दै बैठकबाट भागे । साउद भागेपछि विश्वमणिले ‘आफैँले थुकेको थुक चाटिँदैन’ भन्दै बैठक छोडे । त्यसपछि तेजप्रसाद वाग्ले, भवानी कार्की र चमिना भट्टराई पनि लज्जित हुँदै निस्किए । उनीहरूले प्रचार विभागमा ‘छुचुन्द्रो’ प्रवृतिका व्यक्तिलाइ महत्वपूर्ण जिम्मेवारी दिएकाले आफूहरूलाइ अपमानबोध भएको र उस्तै परे पार्टी नै छाड्ने चेतावनी समेत दिए ।

समाजवादी पार्टीका एक नेताले बताएअनुसार, जगन्नाथ खतिवडाले विभागका सदस्यहरुको असहमति हुँदाहुँदै खतिवडा भएकै कारण प्रकाशलाई सचिव बनाएको विषयमा माधव नेपालसहितका नेताहरु रुष्ट छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार १६:५०